March 16, 2020

तीनै तहकै सरकारको एकीकृत योजना ‍आवश्यक : पर्यटन मन्त्री

  • वेद गुरुङ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीनै तहकै सरकारबीच समन्वय, सहकार्य, समझदारी र योजना बनाएर जानुपर्ने बताएका छन् ।

आइतबार पर्यटन मन्त्रालयमा भएको सातै प्रदेशका पर्यटन मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको छलफल कार्यक्रममा उनले आगामी वर्षको नीति, कार्यक्रम र बजेटका लागि सबै निकायले एकीकृत योजनाका साथ जानुपर्ने बताए ।

उनले भने, ‘आगामी योजनामा पर्यटन क्षेत्रको विकास लागि संघीय सरकारले अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने । प्रदेश सरकारले आन्तरिक पर्यटकीय क्षेत्र र स्थानीय सरकारले स्थानीयमा पर्यटकीय सम्भावनाका विषयमा जोड दिनुपर्ने हुन्छ । यसले पर्यटन क्षेत्रले नेपालको आर्थिक समृद्धिमा क्षेत्रमा अगाडि बढ्न सक्छ ।’

योजना छनोट र लगानीमा सबै तहसँग समन्वय र सहकार्य गरिनु पर्ने आवश्यकता रहेको उनको भनाई थियो । ‘सयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय र सहकार्य गरेर जानु पर्दछ । एकै ठाँउमा भयो भने पर्यटन क्षेत्रमा रहेका पर्यटन ब्यवसायीले धेरै ठाउँमा शुल्क तिर्नुपर्छ भन्ने मनोभावनालाई कम गर्दछ । एकै ठाउँमा लिएको लगानी सबै तहमा बाँडफाँड गर्ने गरि कार्ययोजना बनाउन जरुरी छ,’ उनले भने ।

प्रदेश सरकारसँग सहकार्यमा सबै प्रदेशमा कम्तिमा एक/एक वटा रणनीतिक आयोजनाहरु तय गरिनुपर्नेमा मन्त्री भट्टाराईको जोड थियो ।

छलफलमा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजना समेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशको तर्फबाट पर्यटन क्षेत्रमा भएक प्रगाति र गर्न सकिने सम्भावनाका विषयमा कार्ययोजना प्रस्तुती गरिएको थियो ।

कार्यक्रममा सहभागी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना गरेर राम्रो अभियानको सुरुवात गरेको बताएका छन् । बजेटलाई छरपष्ट गर्नु भन्दा तीनै सरकारबीच समन्वय गरेर दीर्घकालीन महत्वको रणनीतिक पर्यटकीय योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश २ का रामनरेश राय, गण्डकी प्रदेशका अरुणप्रसाद नेपाल, गण्डकी प्रदेशका विकास लम्साल, प्रदेश नम्बर ५ का लिला गिरी र कर्णाली प्रदेशका नन्दसिहं बुढाले आफ्नो प्रदेशको अवस्था र योजना बारे धारणा राखेका थिए ।

पर्यटन विकासका लागि पर्यटन भौतिक पूर्वाधार पहिलो सर्त रहेको भन्दै बताउँदै भौतिक पूर्वाधार निर्माणमा जोड हुनुपर्ने उनीहरुको माग छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…