March 16, 2020

खचाखच पर्यटक हुने क्षेत्रमै सुनसान

वेद गुरुङ

काठमाडौं– विश्वमा फैलिएको कोरोना भाइरसका कारण उपत्यकामा पर्यटकको संख्या अत्यन्त कम देखिन थालेको छ । विश्व सम्पदामा सूचिकृत ललितपुर, भक्तपुर र काठमाडौँका पर्यटकीय क्षेत्रमा पर्यटक न्यून छन् ।

प्राय: पर्यटकको घुइँचो देखिने ठमेल क्षेत्र सुनसान बनेको छ । कोरोनाको त्रासले पर्यटकहरू थोरैमात्र आएको यहाँका ब्यापारीको भनाई छ । पर्यटकको आगमन कम हुन थालेपछि बजारमा यसको असर देखिएको छ । व्यापार शून्य हुन थालेपछि पर्यटन व्यवसाय सञ्चालन गरिरहेका निजी संस्था टान, नाट्टा, पाटा, हान, एनटिभिए, नाटो, सोट्टो नेपाल, टिब्यान, नारा र रिब्यानका लगायतले सरकारसँग राहतको माग गरिरहेका छन् । पर्यटक खचाखच हुने सिजनमै सुनसान भएको व्यवसायीको भनाई छ ।

नेपालमा आउने मुख्य देश चीन, इटाली, स्पेन, इरान, जापन, दक्षिण कोरिया र जर्मनीका पर्यटकलाई अगमानमा कडाइ गरे पछि व्यवसायमा प्रभावित बनेको हो । नेपाल इनभरमेन्टल ट्रेक एण्ड एक्सपिडिसन प्राइभेट लिमिटेडका सञ्चालक नवराज दाहालले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर गरेको बताए । नेपालमा पर्यटन ब्यवसाय सुरु भए देखि अहिले सबैभन्दा ठूलो असर गरेको उनको भनाई छ । ‘करिब–करिब शून्यको अवस्था छ । यो समस्या प्रतिदिन बढ्दै छ,’ उनले भने, ‘अहिले ५ प्रतिशत हारहारीमा मात्रै पर्यटक छन्।’ सरकारले यस्तो अवस्थामा राहतको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

विश्वमा कोरोना संक्रमणको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा बढी पारेको ग्रिन सोसाइटी एडभेन्टरका सञ्चालक राजकुमार खड्का बताउँछन् । पर्यटकको भीड लाग्नुपर्ने सिजनमा पर्यटक आउनै छाडेको उनले बताए । उनले भने, ‘पहिले बुकिङ गरेकाहरूले क्यानसिल गरेको अवस्था छ । अहिले घाटाको ब्यापार गरिरहेका छाैं ।’

ठमेलमै गार्मेन्ट व्यवसायी गरिरहेका नवराज पाण्डेले पर्यटकको आगमन घटेसँगै ब्यापारमा पनि कमी आएको बताए । ठमेल क्षेत्रमा सारङ्गी बजाउने र बेच्ने पेशा गरिरहेका बुद्धिमान गन्धर्वले पर्यटकको आवतजवात कम भए पछि आम्दानी घटेको बताए । ‘पर्यटकलाई नेपाली गीत सुनाउँदा मनपर्नेले सारङ्गी किनेर पनि लैजान्थे । तर पर्यटक नै नआएकाले आम्दानी एकदमै घटेको छ,’ उनले भने ।

ठमेल क्षेत्रका व्यवसायी यस्तै अवस्थामा केही महिना लम्बिए ब्यवसाय गर्न गाह्रो हुने बताउँछन् । ट्रेकर सामानका व्यापारी महेश शाहले हिमाल आरोहण रोकिए पछि ब्यापार नै नभएको बताए ।

कला र सांस्कृतिक सम्पदाले चिनिने पाटन दरबार क्षेत्र पनि सुनसानमा पनि विदेशी पर्यटक घटेका छन् । पाटन दरबार क्षेत्रमा मूल चोक, सुन्दरी चोक, मणि केशव नारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर लगायतका मुख्य आकर्षणका केन्द्रहरू छन् ।

पाटन सङ्ग्रहालय आउने पर्यटकको सङ्ख्यमा वृद्धि नै रहे त पनि केही मात्रमा विदेशी पर्यटकमात्र कम भएको पाटन दरबार क्षेत्रका संग्राहलय सूचना अधिकृत सुरेशमान लाखेले बताए । उनले भने, ‘समग्र ३० प्रतिशत पर्यटक घटेका छन् । पर्यटक घट्नुको कारण विश्वभरमा कोरोनाको प्रभाव पर्नु, फ्लाईट क्यन्सिल हुनु , बुकिङ क्यन्सिल हुन नै हो ।’

वसन्तपुर दरबार तथा हनुमान ढोका क्षेत्रमा पनि  पर्यटक घटेका छन् । विश्व सम्पदा सूचीको वसन्तपुर दरबार परिसरमा ऐतिहासिक भवन र सांस्कृतिक महत्त्व झल्काउने मन्दिर छन् । विशेष गरी वसन्तपुर दरबार क्षेत्रमा महत्त्वपूर्ण स्मारकमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव पार्वती मन्दिर, ठूलो घण्टा, काल भैरव, कुमारी घर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप लगायतका आकर्षकस्थल  छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…