March 18, 2020

कोरोना संक्रमण नियन्त्रण र विश्वशान्तिको कामना गर्दै ट्हो त्हेँ पूजा

महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम गर्ने तथा विश्वशान्ति र सु स्वास्थ्यको कामनासहित पोखरामा तमु प्ये ल्हु संघले ‘ट्हो त्हेँ’ (यज्ञ) गर्दै । तस्बिर साभार : मनिश्रब्ज तमुको फेसबुकबाट

पोखरा– झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएछ । महामारी अन्त्य भए छ । यी ऐतिहासिक कुरा तमु समुदायका बूढापाका बताउँछन् । उक्त अनुष्ठान सो समूदायमा अहिले पनि प्रचलनमा छ ।

तमु सम्बद्ध सङ्घ संस्थाले अहिले पनि समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा सो पूजा गर्दै आएका छन् । तमु प्ये ल्हु सङ्घका केन्द्रीय महसचिव हर्क गुरुङका अनुसार ट्हो त्हें पूजा भन्नाले गाउँले पूजा भन्ने बुझाउँछ । गाउँघरमा अहिले यो पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणीजगत रक्षा हुने विश्वास कायमै रहेको उनले बताए ।

ट्हो त्हेँ गुरुङ समुदायको मौलिक संस्कृति भएको बताउँदै उनले समग्र प्राणि जगतको हितका लागि गरिने यो संस्कृतिको ठूलो महत्व रहेको उल्लेख गरे । ‘हजार वर्षभन्दा अघि तमुको राज्य क्होलासोथरमा भएको महामारी रोक्नका लागि ट्हो त्हेँ गरिएका कारण पनि तमुले यो पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने गर्दछन्,’ उनले भने, ‘कोरोना भाइरसको सङ्क्रमणसँगै विश्वव्यापी त्रास बढिरहेको वर्तमान अवस्थामा यस प्रतिको विश्वास र आस्था झनझन बढिरहेको छ ।’

कोरोना महामारीले विश्व नै त्रसित बनेको अवस्थामा यसबाट मुक्ति मिलोस् भन्ने उद्देश्यका साथ तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिले पोखरामा यही चैत ४ गते ट्हो त्हेँ पूजा गरेको हो ।

तमु समूदायमा पच्यु, क्ल्हेप्री र बोन्पो लम गरी तीन किसिमका खेगी(धर्म गुरु) रहन्छन् । जन्मदेखि मृत्यु संस्कारका साथै विभिन्न चाडपर्व तथा संस्कृतिमा तीनै प्रकारका धर्मगुरुको आआफ्नै महत्व रहने तमु संस्कृतिका जानकार बताउँछन् । सङ्घले प्रत्येक वर्ष चैतको पहिलो मङ्गलबार तीनवटै खेगी राखेर पोखरामा ट्हो त्हें पूजा गरिँदै आइएको छ ।

ट्हो त्हेँमा प्रत्येक घरबाट सत्बीज ल्याई पूजा गरिने चलन रहेकाले सद्बीज ल्याई विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणको रोकथामसहित आफन्तजनको जीउ, धन रक्षाको लागि पूजामा सहभागी हुन सङ्घले आग्रह गरेको थियो ।

क्होलासोंथरबाट हजारौ वर्ष अघि सुरु भएका संस्कार तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि यस किसिमका कार्यक्रमलाई सङ्घले प्राथमिकतामा राखेको महासचिव गुरुङ बताउँछन् ।

तमु समुदायका प्राचीन इतिहास एवं संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ क्होलासोंथरमा विभिन्न अध्ययन अनुसन्धान बढाइएको छ । २०५८ सालमा क्याम्ब्रिज युनिभर्सिटी, प्ये ल्हु संघ र पुरातत्व विभागको संयुक्त प्रयासमा गरिएको उत्खननबाट त्यहाँ एक हजार २०० वर्षभन्दा अघिदेखि बस्ती विकास भएको पाइएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…