March 19, 2020

२५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन

काठमाडौँ — सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ ।

विभिन्न सांस्कृतिक तथा सामाजिक काम, पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ।

यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ। साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ।

समितिले सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न/नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । सर्वसाधारण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गरिएको छ । यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने भएको छ । सार्वजनिक सवारी साधन चलाउनुअघि प्रत्येक दिन समयसमयमा ‘डिसइन्फेक्सन’ गर्न पनि सरकारले आग्रह गरेको छ । यसको अनुगमन गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई जिम्मा दिइएको छ ।

मानिसको बढी जमघट हुने सार्वजनिक महत्त्वका स्थलमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले निश्चित समयको अन्तरालमा सरसफाइ र ‘डिसइन्फेक्सन’ गर्नुपर्ने भएको छ । यसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले समन्वय गरेर अनुगमन गर्नेछन् ।

सरकारले सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालसमेतबाट गलत अभिव्यक्ति दिए कडा कारबाही गर्ने निर्णय पनि भएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…