पाँचखालमा भेटियो पाँच सय वर्ष पुरानो मूर्ति
राजकुमार पराजुली
काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने बताइएको छ ।
ती मूर्ति प्रारम्भिक अुसन्धानले समुन्द्र देवताको टाउकोको केही भाग फुटेको तथा करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने पुरातत्व विभागका अधिकृत प्रकाश खड्काले बताए । तर उक्त मूर्ति भग्नावशेषबाट बाहिर आएको उनले बताए । उनले भने, ‘ढुङ्गेधाराको भग्नावशेषबाट धाराछेउमा रहेको मूर्ति हाल सडक बनाउने क्रममा बाहिर आएको हो ।’
यसअघि चैत पहिलो सातामात्रै पाँचखाल नगरपालिका–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वरी मञ्जुश्री (देवी)को मूर्ति भेटिएको थियो । दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले मध्यकालीन समयको (करिब ४०० देखि ५०० वर्ष पुरानो) भएको अधिकृत खड्काले बताए । उक्त मूर्तिको अध्ययन गर्न गएको विभागको टोलीलाई मूर्ति नदिई हाल तामाङ समुदायले पूजा गर्न गाउँमै राखेका छन् ।
मूर्ति भेटिएका दुवै स्थानमा थप उत्खनन गर्न नदिन र पाँचखाल क्षेत्रको सम्पदा संरक्षण गर्न नगरपालिका, स्थानीय प्रशासन तथा पुरातत्व विभागसँग माग गरिएको छ । पाँचखालका सम्पदा संरक्षणका लागि स्थानीय युवाले ‘पाँचखाल पुरातत्व सम्पदा बचाउ अभियान’ नै सञ्चालन गर्दै आएका छन् ।
पाँचखाल नगरप्रमुख महेश खरेलले पाँचखाल नगर क्षेत्रमा विगत एक वर्षदेखि खोज अनुसन्धानका क्रममा सम्पदाको सम्भावना देखिइँदै आएकाले सम्पदा संरक्षणका लागि नगरले गुरुयोजना बनाएर लाग्ने छलफल भइरहेको जानकारी दिए । ‘पाँचखाल ऐतिहासिक क्षेत्र प्रमाणित हुँदैछ, यसको संरक्षण, सवर्द्धन गर्नु हाम्रो दायित्व पनि हो,’ उनले भने ।
उक्त क्षेत्रमा भेटिएका सम्पदा सामग्री, मूर्ति तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) गर्ने जनाएको छ । पाँचखालको सबै सम्पदा क्षेत्रमा उत्खनन सम्भव नभएकाले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताए । उनका अनुसार पाँचखाल नगर ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिएकाले स्थानीय तह तथा अन्य कुनै निकायबाट बजेट उपलब्ध गराउन सके यसै बर्ष अन्यथा विभागमार्फत आउँदो आर्थिक वर्षमा बजेट छुट्याएर उक्त सर्भे गरिनेछ ।
महानिर्देशक गौतमका अनुसार जियोफिजिकल सर्भे मेसिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनैकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्भे गर्न लागिएको हो । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै विभागका पुरातत्वविद्द्वारा प्रतिवेदनसमेत तयार पारिएको छ ।
यसैबीच पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले गत मङ्सिर २९ गते सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो । –रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…