पर्यटकीय क्षेत्र रोल्वालिङमा ७७ दिन पछि राहत
काठमाडौं । कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन ७७ औं दिनमा पुग्दा बल्ल दोलखाको विकट पर्यटकीय क्षेत्र रोल्वालिङमा बल्ल राहत पुगेको छ । त्यो पनि सरकारले उपब्ध गराएको होइन विभिन्न संघसंस्थाको समन्वयमा राहत पुगेको हो ।
धार्मिक, प्राकृतिक तथा पर्यटकीय रुपमा महत्वपूर्व मािनने राेल्वालिङ क्षेत्रमा क्याब्जे लामा जोपा रिन्पोछे, कपन गुम्बा र रोल्वालिङ सङ्गाग गुम्बा विद्यालयको सहकार्यमा गेशे थुप्तेन जिन्पाको संयोजकत्वमा आइतबार पहिलो पटक राहत वितरण गरिएको हो ।
त्यस क्षेत्रका सुर्मुचे, दोङगाङ, केल्जे र बेदिङ गरी चार गाउँका कुल ३६ घरलाई प्रति परिवार २५ कि.ग्रा. चामल र ३ लि. तेल वितरण गरिएको स्वयम् सेवकहरु पेम्बा रिता शेर्पा र दावा टासी शेर्पाले जानकारी दिए ।
“हाम्रो बेदिङ गाउँमा अवस्थित रोल्वालिङ सङ्गाग गुम्बा विद्यालयमा मात्र कुल ४० विद्यार्थीहरु छन् । ती विद्यार्थी सबै विपन्न परिवारका हुन् । यहीं छात्रावासको व्यवस्था गरी निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेका छौं । ती विद्यार्थी र गाउँलेको भोक कसले देख्ने ?” विद्यालयका प्रमुख ङवाङ तेन्जी लामाले भने ।
यस विकट हिमाली गाउँ क्षेत्र पुग्न ३ देखि ४ दिन लाग्छ । हालसम्म गाउँमा स्वास्थ्य सम्बन्धी कुनै सुविधा छैन । स्वास्थ्य चौकी भवन त छ, तर, आवश्यक स्वास्थ्यकर्मी, आधारभूत स्वास्थ्य सामग्री र सुविधा भने छैन ।
“एउटा गाउँबाट अर्को गाउँमा आवातजावत बन्द भएको पनि ७७ दिन भइसक्यो । अहिलेसम्म वडा समिति, गाउँपालिका वा अन्य कुनै सम्बन्धित निकायबाट कोही पनि यहाँ आएका छैनन् । हामी भोकले मर्यौं कि रोगले कसैले चासोसम्म दिएका छैनन् झन् सरकारबाट आउने राहतको त कुरै नगरांैं” स्थानिय सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले गुनासो पोखे ।
स्थानीय किन्जुम शेर्पाका अनुसार गाउँमा फल्ने भनेको आलु र मूला मात्र हो । पोहोर सालको बाली खाएर सकिसक्यो । यसपाली भर्खरै आलु लगाएका छन् । गाउँले सबै दुःखसुखले मिलीजुली नबसेका भए कत्ति गाउँले त अस्थिपञ्जर भइसक्थे ।
गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने रोल्वालिङ गाउँ धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले दोलखा जिल्लाकै सबैभन्दा महत्वपूर्ण स्थल मानिन्छ । गुरु रिम्पोछे (पद्मसम्भव) ले करिब दुई हजार वर्षअघि स्थापना गरेको विश्वास गरिने यस क्षेत्र गौरीशंकर हिमाललगायतका ६ हजार मिटरका सयौं हिमालहरु, त्छो–रोल्पा ताल, दुर्लभ जडिबूटी तथा रेड पान्डा, हिउँ चितुवाजस्ता वन्यजन्तु एवम् सगरमाथा क्षेत्र प्रवेश गर्ने पदमार्ग टासीलाप्चा पासका कारण प्रख्यात रहेता पनि यहाँको जनजीवन निकै कष्टकर छ ।
Photo by Phurba Tenjing Sherpa & Paolo Cocco
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…