June 19, 2020

पर्यटकीय केन्द्र फेवाताल जोगाउन पहल

Pokharaपोखरा । पोखरा पुग्ने जो कोही फेवाताल पुगेकै हुन्छ । फेवातालसँगै जोडिएर लहरै बसेको लेकसाइड बजारमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण उच्च छ । यद्यपी पछिल्लो समय भइरहेको अतिक्रमण र पुरिने कार्य दुवैले फेवातालको भविश्य र सौन्दर्य दुवै अन्योलमा पारेको थियो ।

तर, अहिले गण्डकी सरकार र पोखरा महानगरले यसको संरक्षणको जुन प्रयास थालनी गरेका छन्, यसले भने आशाको किरण देखाएको छ । विगतदेखि पटक–पटक कुरा उठ्ने र सेलाउने हुँदै आएपनि अहिले ठोस पहल सुरु भएको छ ।

फेवाताल संरक्षणको लागि अहिले काम धमाधम हुँदैछ । फेवाजलाधार क्षेत्रका चारवटा खोलामा सिल्टेसन बाँध र सिल्ट पोखरीको निर्माणको काम भइरहेको छ । यिनै खोलाहरुबाट बर्खामा झर्ने माटो र बालुवा फेवाताल पुरिंदै जाने प्रमुख कारण हो ।

जलाधार क्षेत्रमा चेक ड्याम निर्माण गरेर खोलासँगै तालमा बगेर आउने लेदोसहितको माटो रोक्न सिल्टेसन बाँधसहित पोखरी निर्माण गरिंदैछ । बिहीबार निरीक्षणमा पुगेका गण्डकी सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले यसले फेवातालको आयु बढाउने बताएका छन् ।

उनले जलाधार क्षेत्रमा निर्माण गरिएका सिल्टेसन ड्यामसहितका सिल्ट पोखरी फेवातालको संरक्षणसँगै पर्यटन प्रवर्द्धनका केन्द्रका रुपमा विकास गरेर स्थानीय बासिन्दाको आयआर्जनको माध्यम बनाउनु पर्नेमा जोड दिएका छन् ।

गण्डकी सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा कूल रु २८ करोड ९६ लाखको लागतमा सिल्टेसन ड्याम र सिल्ट पोखरी बन्न लागेको हो ।

हर्पन खोला घाँटी छिनामा रु सात करोड ८८ लाख ६२ हजार, बेतयानी खोलामा रु पाँच करोड ४६ लाख ५८ हजार, लौरुक खोलामा रु पाँच करोड ७४ लाख ८४ हजार ९९८ र अधेरी खोलामा रु नौ करोड छ लाखको लागतमा चेकड्याम र सिल्टपोखरी निर्माण भइरहेको छ । कुल ९५ प्रतिशत काम सकिएको बताइएको छ । उक्त भौतिक संरचना निर्माणका लागि गण्डकी सरकार र पोखरा महानगरको बराबर लगानी रहेको छ ।

महानगरपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको संरक्षण गर्नु सबैको कर्तव्य रहेका बताएका छन् । राससका अनुसार फेवातालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल पौडेको दृश्य पर्यटककको पहिलो रोजाइ हुनले त्यसलाई जोगाएर पुस्तान्तरण गर्दै जानुपर्ने उनको भनाई छ ।

रु एक अर्ब बराबरको डिपिआर तयार गरेर पहिलो चरणमा सिल्टेसन ड्याम र सेन्टपोखरी तथा खोला नियन्त्रणका लागि तटबन्ध तथा बायोइन्जिनीयरिङअन्तर्गत वृक्षरोपण जस्ता काम भइरहेको बताइएको छ ।

जापानी सहयोग नियोग (जाइका)ले गरेको अध्ययनअनुसार सन् १९५० देखि २००० सम्मको अवधिमा मात्र फेवाताल ६ दशमलब दुई किलोमिटर साँघुरो भएको उल्लेख छ । त्यस्तै सन् २०१३ को अध्ययनअनुसार ४३९ हेक्टरमा फैलिएको तालको सबैभन्दा गहिरो भाग करीब २३ मिटर रहेको छ भने सरदर गहिराइ नौ दशमलब ६ मिटरमा मात्र सीमित रहेको तथ्याङ्क छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…