July 17, 2020

फर्किँदै रानीपोखरीमा वैभव

काठमाडौँ । पानी भर्ने तयारीमा रहेको रानीपोखरीमा अहिले सौन्दर्य र मन्दिर पुनः निर्माणको काम भइरहेको छ । ऐतिहासिक पोखरीमा विसं. २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनर्निर्माण कार्य भइरहेको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले आगामी साउनभित्र पानी भर्ने तयारी गरिरहेको छ ।

लामो समय काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि काम अघि बढ्न नसकेपछि पछिल्लो समय प्राधिकरणले पुनर्निर्माण कार्य थालेको हो । अहिलेसम्ममा पोखरीको काम सकिएको छ भने बालगोपालेश्वर मन्दिरको काम ४५ प्रतिशत सकिएको छ ।

काठमाडौँका तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसै बेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तर पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्र हाते गणेश स्थापना गरेको देखिन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…