August 6, 2020

पञ्चासेलाई पर्यटन केन्द्र बनाउन सरोकारवालाहरु एकमत

 

काठमाडौं । पञ्चासे क्षेत्रलाई आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास गर्न सरोकारवालाहरु एकमत भएका छन् ।

पञ्चचासे क्षेत्रको विकासका लागि आयोजिक गोष्ठीमा सहभागी गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पञ्चासे क्षेत्रसँग जोडिएका कास्की जिल्लाका पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका, पर्वत जिल्लाका मोदी गाउँपालिका र कुष्मा नगरपालिका तथा स्याङजा जिल्लाका आँधीखोला र फेदिखोला गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिध र अन्य सरोकारवालाहरु यसका लागि सहकार्य गर्न सहमत भएका छन् ।

यसका लागि यि निकायहरुको सहकार्य र समन्वयमा संस्थागत संरचना तयार गर्ने, पंचासेको गुरुयोजना निर्माण गर्ने र स्रोत तथा साधनको परिचालन गर्ने पनि उनीहरु बताएका छन् ।

पञ्चासे कास्की, पर्वत र स्याङजा तीन जिल्लाको सीमानामा अवस्थित जैविक विविधताले भरिपूर्ण र धार्मिक महत्व बोकेको क्षेत्र हो ।

२५१७ मिटरको उचाईमा अवस्थित पञ्चासे शिखर वरपरको संरक्षित वनमा ११३ प्रजातीका सुनाखरि, ५ प्रकारका लाली गुराँसलगायतका विभिन्न दुर्लभ जडीबुटी र वनस्पतिहरु, चितुवा, मृग, बंदेल आदि जनावरहरु पाइने नेपाल पर्यटन बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यहाँबाट धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाको अलौकिक दुश्य देख्न सकिन्छ भने नजिकै अवस्थित श्रवण कुमारको समाधी, पञ्चासेको शिखरमा रहेको शिव मन्दिर र भदौरे, आठथर, चित्रे आदि रमणीय गाँउहरुको स्थानीय संस्कृतिका कारण यो ठाउँ धार्मिक र साँस्कृतिक पर्यटकका लागि आकर्षक हुने बताइन्छ ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धन्नजय रेग्मीले पञ्चासेको प्रचार प्रसार र प्रवर्द्धन गरि केही समय भित्रै पञ्चासे सबै पर्यटकहरु एकपटक जानैपर्ने गन्तव्यको रुपमा स्थापति गर्ने र पर्यटकीय सुविधाहरुको विकास गर्न निजी क्षेत्रलाई समेत आव्हान गरिने बताए ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, प्रदेश सभा सांसदहरु राजीव पहारी र मीन गुरुङले पञ्चासे धेरै संभावना बोकेको पर्यटन गन्तब्य भएता पनि सोचे जस्तो विकास गर्न नसकिएकोले सवै सरोकारवालाहरुले समन्वय गरि अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…