August 7, 2020

चाडपर्व एकै घरपरिवारमा मनाउनु पर्ने

Lamjung Tourism Festival
फाइल तस्बिर ।

काठमाडौं । कोरोना महामारी फैलँदै गएपछि सरकारले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउदा अपनाउनु पर्ने सावधानीका उपायहरु उल्लेख गरिएको छ ।

मुलुकमा ठूला चाडपर्वहरु नजिकिंदै गर्दा त्यस्ता चाडपर्वमा जम्मा हुने समुहबाट कोरोनाको महामारी झन फैलन सक्ने संभावनालाई ध्यानमा राखेर मापदण्ड ल्याएको हो ।

मापदण्ड अनुसार चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी मनाउन भनिएको छ ।

एकअर्को ठाउँमा जानै पर्ने भएमा मास्क लगाउने, स्यानिटाइजरले लगाउने, सावुन पानीले हात धुने, दुरी कायम गरेर बस्ने आदि उपायहरु अपनाउन भनिएको छ ।

त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु नछुन भनिएको छ ।

कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरुको व्यवस्था गर्ने र कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न उल्लेख गरिएको छ ।

साथै सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहरुले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउनुपर्ने मापदण्डमा उल्लेख छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…