August 13, 2020

सगरमाथा सफाइमा विश्व रेकर्ड

काठमाडौँ । सगरमाथाको सफाइ गरेबापत नेपाल सरकारले विश्व रेकर्ड कायम गरेको छ । विश्व रेकर्ड राख्ने गिनिज् बुकले गत वर्षको शरद ऋतुमा गरिएको सगरमाथा सफाइ अभियानलाई विश्व रेकर्ड प्रमाण पत्र दिएको हो ।

पर्यटन विभागमा निर्देशक मीरा आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत गिनिज् बुक रेकर्डको प्रमाणपत्र सार्वजनिक गरेकी छन् । ‘सगरमाथाको फोहोर व्यवस्थापनका लागि विश्व रेकर्ड कायम हुनु भनेको मेरो लागि व्यक्तिगत र व्यावसायिक रूपमा पनि महत्त्वपूर्ण उपलब्धि हुन्” आचार्यले प्रमाणपत्र सार्वजनिक गर्दै लेखेकी छन् । साथै उनले आफ्नो जानकारीमा रहेसम्म नेपाल सरकारको यो पहिलो विश्व रेकर्ड हो पनि भनेकी छन् ।

गत वर्षको शरद ऋतुमा विभागले सगरमाथाको सफाइ अभियानको अगुवाइ गरेको थियो । आचार्य विभागको पर्वतारोहण महाशाखाकी प्रमुख छिन् ।

विश्व रेकर्ड प्रमाणपत्रमा सन् २०१९ को अप्रिल १४ देखि मे २९ सम्म सगरमाथामा सबैभन्दा ठुलो सफाइ अभियान चलाइएको र त्यसमा १२ जना शेर्पाले १० हजार ३ सय ८६ केजी फोहोर सङ्कलन गरेर ल्याएको उल्लेख छ ।

आचार्यले उक्त अभियानमा पर्यटन मन्त्रालयका साथै वन्य जन्तु संरक्षण तथा नेशनल पार्क विभाग, नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्डलगायतका निकाय तथा संस्थाहरू सहभागी रहेको पनि उल्लेख गरेकी छन् ।

‘म सबैलाई सहयोगको लागि धन्यवाद दिन चाहन्छु, र आफ्नो ज्यानलाई समेत जोखिममा राखेर जसले यो काम गरे उनीहरू प्रति आभारी छु, मेरो सम्मान र माया उहाँहरूप्रति सधैँ रहनेछ’ उनले आफ्नो स्ट्याटसमा लेखेकी छन् ।

यो पनि : यसरी गरियो सगरमाथाको सफाइ

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…