नेपालमा चरा पर्यटनको सम्भावना उच्च
काठमाडौँ । नेपाल पन्छी संरक्षण सङ्घका अध्यक्ष राजेन्द्र गुरुङ नेपालमा चरा पर्यटनको अत्यन्त राम्रो सम्भावना रहेको बताएका छन् । उनको अनुभवमा चरा पर्यटनमा गुणस्तरीय पर्यटकलाई ल्याउन सकिन्छ ।
विगत झन्डै दुई दशकदेखि पर्यटन क्षेत्रका क्रियाशील गुरुङ आफै चरा पर्यटनका गाइड पनि हुन् । ‘सानैदेखि चराप्रति आकर्षित थिएँ । चरा उडेको चराले खाएको लगायतका कार्य हेरेर दङ्ग पर्थे’ उनले हाइलाइट्स टुरिजमसँगको कुराकानीमा भने ।
पेसागत रूपमा पर्यटनमा लागेपछि भने आफूले घुमाउने विदेशी पाहुनाको चराप्रतिको मोहका कारण यता आकर्षित भए । ‘चराप्रति उनीहरूको रुचि र प्रश्नले जान्नु पर्ने बनायो एक जना गाइडको रूपमा थाहा छैन, जान्दिन भन्न पनि मिलेन’ उनले भने, ‘त्यसैले पनि चराको बारेमा थप अध्ययन गरियो ।’
उनको अनुभवमा नेपालको हिमाल पहाड र तराईको जुन भौगोलिक विविधता छ त्यसले चराको विविधता र सङ्ख्या दुवैमा प्रभाव पारेको छ । ‘हाम्रो देशमा अरू देशको तुलनामा केही दिनमै धेरै प्रजातिका चराहरू देख्न पाइन्छ’ उनले भने ।
पेसागत कामकै सिलसिलामा धेरै देश घुमे त्यसबाट उनको निष्कर्ष नेपालमा चरा पर्यटनको धेरै ठुलो सम्भावना छ भन्ने हो । नेपालमा ८८८ प्रजातिका चरा पाइन्छन् । ४२ प्रजातिको विश्वमै दुर्लभ चराहरू सजिलै देख्न सकिन्छ । १०/१२ दिनको भ्रमणमा त्यस मध्येका आधा जति देख्न सकिन्छ । विश्वमै खतरा उन्मुख मानिएको काँडे भ्याकुर पनि यही पाइन्छ ।
चरा पर्यटनमा आउनेहरूका लागि नेपालको कला संस्कृति पनि थप आकर्षण हुन् । उनीहरूको लागि सांस्कृतिक पक्ष सधैँ महत्त्वपूर्ण हुने गर्दछ । जाडो याममा काठमाडौँ भ्यालीबाटै चराहरू देख्न सकिन्छ । पोखरा, लुम्बिनी र चितवन भ्यालीमा चार पाँच प्रजातिमा गिद्धहरू देख्न सकिन्छ ।
नेपालमा गिद्ध संरक्षण
चरा संरक्षणको सन्दर्भमा कुरा गर्दा गिद्ध संरक्षणमा भएका कामहरू महत्त्वपूर्ण छन् । यसमा सरकारले पनि काम गरेको छ । संस्थाले पनि काम गरेको छ । विश्वमै लोपोन्मुख गिद्धहरू नेपालमा धेरै स्थानहरूमा पाउँछन् ।
पोखरा, चितवन र लुम्बिनी क्षेत्रमा गिद्धहरू हेर्न पाइन्छ । पर्यटकलाई ट्रेकिङ लैजाँदा उच्च पहाडी भागहरूमा पनि गिद्ध पाइन्छ ।
गिद्धसँग हाम्रा धार्मिक आस्थाहरू पनि जोडिएका छन् । हिन्दु धर्ममा रावणले सीतालाई हरण गर्ने बेला जटायुले रावणको प्रतिकार गरेको कथा छ । नेपालकै हिमाली क्षेत्र र तिब्बतमा मरेको मानिस गिद्धलाई खुवाउने चलन छ ।
गिद्धले सिनो खाने गर्दछ । यसले गर्दा यसलाई वातावरण सफा राख्नका लागि पनि उपयोगी मानिन्छ । भनिन्छ एउटा गिद्धले ११ हजार डलर बराबरको सफाइको काम गर्दछ ।
१९८० तिर गिद्धको जनसङ्ख्या एकदमै धेरै थियो । तर त्यसपछिका वर्षहरूमा गिद्धको सङ्ख्या एकदम रफ्तारमा घट्दै गएको छ । गिद्धहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि खतरोन्मुख सूचिमा परेका छन् ।
सङ्घले सात वटा जटायु रेस्टुरेन्ट चलाइरहेको छ । त्यस मध्ये पोखरा, चितवन र लुम्बिनीमा पर्यटकीय क्षेत्रमा छन् । ‘काम नलाग्ने जनवारहरूलाई सङ्कलन गरेर राखिन्छ । उनीहरूको मृत्यु पछि गिद्धलाई खाना दिइन्छ’ उनी भन्छन् ।
‘गिद्ध रेष्टुरेन्टहरुमा वाच टावरहरू बनाएका छौँ । त्यसमा मान्छे भित्र बस्छ भने त्यसको अगाडी सिनो राखिएको हुन्छ’ उनले भने, ‘जहाँ एकदमै नजिकबाट गिद्धलाई हेर्न सकिन्छ । अरू देशहरूमा गिद्ध टाढा टाढाबाट हेर्नुपर्ने हुन्छ । नेपालमा चाही नजिकबाट हेर्न पाउँछ । अझ फिडिङको बेलामा त ५० मिटर भन्दा पनि कम दुरीबाट हेर्न सकिन्छ ।’
संघले गिद्ध संरक्षणको लागि ब्रिडिङ सेन्टर सञ्चालनमा ल्याएको छ । एड्भाेकेसी तथा जनचेतनाका कार्यक्रमहरु पनि गरिरहेको छ ।
‘विश्वमै पहिलो पटक हामीले गिद्धलाई रेडियो ट्रान्स मिटर राखेर प्राकृतिक क्षेत्रका छाड्ने काम गरेका छौँ’ गुरुङ भन्छन्, ‘यसले गिद्धको आनीबानी र कहाँसम्म जान सक्छ भन्ने बारेमा थाहा भएको छ ।’
सन् २००९ बाट गिद्धका बारेमा विश्वव्यापी चेतना जगाउन हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिकार सचेतना दिवस मनाउँदै आएको छ । यस वर्ष कोरोनाको कारणले भर्चुअल कार्यक्रम हुँदै छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…