September 24, 2020

छ महिनापछि खुम्बु क्षेत्रमा एक जोडी पर्यटक

पृष्ठभूमिमा नाम्चे बजार राखेर तस्बिर खिचाउँदै पर्यटक ।

काठमाडौँ । छ महिनाभन्दा लामो समयपछि पहिलो पटक एक जोडी पर्यटक प्रसिद्ध पर्यटकीय क्षेत्र खुम्बु पुगेका छन् ।

कोरोना महामारीका कारण गत चैत १० गते पहिलो पटक देशव्यापी लकडाउन सुरु भएपछि खुम्बु क्षेत्र पुग्ने संभवत यो जोडी पहिलो पर्यटक हो ।

जर्मन नागरिक जोहनेस् लोथर रिचार्ड फिलिप र क्याथरिना डिर्क्सको जोडी एभरेस्ट बेस क्याम्पलगायतका क्षेत्रको पदयात्राका लागि लकडाउन सुरु हुनुअघि नै नेपाल आएका थिए ।

उनीहरूको पदयात्रा व्यवस्थापन गरेका अल्टरनेटिभ ट्रेक्स एन्ड एक्सपिडिसनका सञ्चालक तेजबहादुर गुरुङका अनुसार मार्च १५ मा नेपाल आइपुगेको यो जोडीले लकडाउनले गर्दा पदयात्रामा जान पाएनन् ।

‘यस अवधिमा उहाँहरू नेपालमै रहनु भयो’ गुरुङले हाइलाइट्स टुरिजमसँग भने, ‘अगस्टमा लकडाउन खुलेपछि पदयात्रामा जाने योजना बनाएको थियो तर फेरी बन्द भइहाल्यो, त्यसैले बसाई लम्बिँदै गयो ।’

उनीहरू मङ्गलवार काठमाडौँबाट लुक्ला फ्लाइटमा गएका हुन् । बुधवार साँझ नाम्चे पुगेर बिहीबार त्यस वरिपरि घुमघाम गरेका छन् ।

उनीहरूका साथमा गएका गाइड ङिमा शेर्पाका अनुसार खुम्बु क्षेत्रका होटलहरु खुलिसकेका छन् । लकडाउन पछि पहिलो पटक पर्यटक पुगेको हुँदा लुक्लामा समेत उनीहरूलाई स्वागत सत्कार गरिएको थियो ।

गुरुङका अनुसार कुल २१ दिनको पदयात्रामा एभरेस्ट बेस क्याम्पसँगै चोला पास, कुम्बला पास र रेञ्जला पास पनि पुग्ने उनीहरूको कार्यक्रम रहेको छ । यी पासहरू ५ हजार ६ सय मिटरभन्दा उचाइमा छन् ।

‘छ महिनासम्म गेस्ट नदेखेकोले हामी तनावमा थियौँ । यसले परिस्थिति सहज भयो र सरकारले नीतिहरू राम्रो ल्यायो भने पर्यटन क्षेत्रले फेरी गति लिन्छ भन्ने लागेको छ’ गुरुङ भन्छन्, ‘यसले यो अप्ठ्यारो परिस्थितिमा हाम्रो मनोबल बढाएको छ ।’

खुम्बु क्षेत्रको पदयात्रामा जानु अघि अल्टरनेटिभ ट्रेक्स एण्ड एक्सपिडिसनको कार्यालयमा जर्मन जोडी । साथमा ट्रेक्स सञ्चालक तेजबहादुर गुरुङ ।

सबै तस्बिरहरु : अल्टरनेटिभ ट्रेक्स एण्ड एक्सपिडिसन

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…