बहराइनका राजकुमारको सपना: सगरमाथामा झन्डा
- खिम घले
काठमाडौँ । सगरमाथा आरोहणको तयारीमा रहेका बहराइनका राजकुमार शेख मोहम्मद हमाद अल खालिफाको टोली नेपालको चर्चित पर्यटकीय क्षेत्र खुम्बु पुगेको छ । १८ जनाको टोली हिमाल आरोहणको तालिम गर्दै लोबुचे हिमाल आरोहणका लागि त्यहाँ पुगेका हुन् ।
गत भदौ ३१ गते निजी विमानमा काठमाडौँ उत्रिएका राजकुमारको टोलीले सरकारी नियम अनुसार ७ दिन कोरिन्टिन सकेपछि सबै तयारी गरेर लुक्ला हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका छन् ।
तालिमसँगै ६ हजार १ सय मिटरको लोबुचे हिमालको आरोहण पछि टोली गोरखास्थित मनास्लु हिमालको आरोहणको लागि जानेछ । यसअघि नै बाटो बनाउने तथा डोरी टाँग्नेलगायतका काम गर्नका लागि अनुभवी शेर्पाहरूसहित सयौँको सङ्ख्यामा जनशक्ति मनास्लु बेसक्याम्प पुगिसकेका छन् ।
यो आरोहण बहराइनको राजकुमारको टोली भएका कारण नेपाली आरोहण इतिहासमा महत्त्वपूर्ण त छ नै कोरोना कालमा आएको पहिलो विदेशी आरोहण समूह भएकोले पनि विशेष चासो छ ।
खासमा राजकुमारको टोली गत वर्ष नै तालिमको लागि आउन चाहेका थिए । स्प्रिङ सिजनमा लोबुचे आरोहण र तालिम उनीहरूको योजना थियो । तर विश्वव्यापी कोरोना महामारीका कारण बन्द भयो । त्यसैले कोरोनाको त्रास नसकिए पनि उनीहरूले अटम सिजनमा विशेष अनुमति लिएर तालिमसँगै लोबुचे र मनास्लु आरोहणको योजना बनाए ।
‘उहाँहरूको लक्ष्य सन् २०२१ को स्प्रिङ सिजनमा सगरमाथाको टुप्पामा बहराइनको झन्डा पुयाउने हो’ आरोहण व्यवस्थापनमा खटिएका सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले हाइलाइटस् टुरिजमसँग भने, ‘लोबुचे र मनास्लुको आरोहण त्यसैको पूर्वाभ्यास हो ।’
मिङ्माका अनुसार टोलीको तर्फबाट गत वर्ष सोधपुछ भएको थियो । त्यसैको आधारमा बहराइनको राजकुमारको टोली आरोहणमा आउने भनेर जानकारी गराएका थिए । तर मिङ्मालगायत कसैले पनि यसलाई त्यति गम्भीर रूपमा लिएका थिएनन्, खासै पत्याउन सकेका थिएनन् । ‘सुरुमा हामीलाई सय वर्ड जतिको इमेल आएको थियो, हामी बहराइनको भिआइपी टोली नेपालको हिमाल चढ्न चाहन्छौँ भनेर हामी त्यसको उत्तर दियौँ तर खासै पत्यार लागेको थिएन’ मिङ्मा भन्छन्, ‘पछि राजकुमारको टोली आउने भनेर एडभान्स नै आएपछि तयारीमा जुट्यौँ ।’
तर त्यही बेला विश्वव्यापी रूपमा कोरोनाको महामारी सुरु भयो । अन्तर्राष्ट्रिय उडानहरू बन्द भए, नेपाल सरकारले पर्वतारोहणलाई पनि बन्द गर्यो । मुलुक पूर्ण लकडाउनमा गयो । त्यसैले लोबुचेमा गर्ने भनिएको तालिम रोकियो । टोलीको खास उद्देश्य २०२१ मा सगरमाथाको टुप्पामा बहराइनको झन्डा पुर्याउने हो । त्यसका लागि तालिम आवश्यक हुन्छ । उनीहरूले सगरमाथा क्षेत्रको लोबुचेमा तालिम तथा आरोहण र त्यसपछि आठ हजार भन्दा अग्लो मनास्लुको एउटै सिजनमा आरोहणको योजना बनाएर अनुमतिको लागि सरकारलाई अनुरोध गरे ।
टोलीमा तीन जना बेलायती नागरिक छन् । उनीहरू बहराइनका राजपरिवारका प्रशिक्षकहरू हुन् । बहराइनका राजकुमारको टोलीले यसअघि अग्ला हिमाल समेत नदेखेको बताइएको छ ।
‘उहाँहरू समुद्री सतहको मान्छे, हिमालमा गाह्रो त हुन्छ नै, तैपनि हामीले सबै खालको तयारी पुरा गरेका छौँ । त्यही अनुसार तालिमको तयारी पनि भएको छ’ गाइड तथा सेभेन समिटका निर्देशक छाङदावा शेर्पा भन्छन्, ‘यस आरोहणका लागि हामीले गाइडहरूको विशेष टोली बनाएका छौँ ।’
यस आरोहणमा सहभागी गाइडहरू मध्ये २४ पटक सगरमाथा आरोहण गरेका कामी रिता, शेर्पा, १४ वटा आठ हजारमाथिका हिमाल आरोहण गरेका दाजुभाइ मिङ्मा र छाङ दावा शेर्पा, सबैभन्दा सानो उमेरमा विना अक्सिजन सगरमाथा चढेका तासी लाक्पा शेर्पा विश्व कीर्तिमानी हुन् । ‘यस पटक मनास्लुको आरोहणमा हामी धेरै अनुभवी गाइडहरू छौँ’ कामी रिता शेर्पाले भने ।
कोरोना महामारीका कारण कोमामा पुगेको पर्यटन क्षेत्र विशेष गरेर पर्वतारोहणलाई यस आरोहणले टेवा दिने धेरैले विश्वास गरेका छन् । पहिलो त यो बहराइनको राजकुमारको टोली भएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले चासो लिएको छ, यसबाट प्रचार प्रसार भएको छ । अर्कोतिर यही एउटा आरोहण टोलीको व्यवस्थापनले समेत निक्कै धेरै मानिसलाई राहत मिलेको छ । सेभेन समिटका अध्यक्ष मिङ्माका अनुसार हजार जना भन्दा धेरै भरियाहरू मात्र सहभागी हुनेछन् । झन्डै ७०/७५ जना गाइडहरू र त्यही अनुसार किचेन स्टाफलगायतको जनशक्ति यस आरोहणमा सहभागी छन् ।
‘यो हाइ प्रोफाइल आरोहण दल भएकोले यसको विशेष महत्त्व छ, कोरोना महामारीले पर्यटन क्षेत्रलाई अत्यन्त नकारात्मक असर पारेको बेला उहाँहरूको आगमनले पर्यटन क्षेत्रमा आशा पलाएको छ’ नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन् । उनको बिचारमा यसले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय क्षेत्र थप चिनाउन मद्दत पुर्याउने छ ।
सुरुमा पत्याउनै गाह्रो भयो : मिङमा शेर्पा
बहराइनको राजकुमारले नेपालमा हिमाल चढ्ने योजना बनाएको रहेछ । अनि उहाँको सचिवालयले हाम्रो सेभेन समिट ट्रेक्सको वेवसाइट हेरेछ । उहाँहरूले पश्चिमा मुलुकदेखि सबैको वेबसाइट हेरेपछि हामीलाई छोटो इमेल पठाउनु भयो । हामी बहराइनको ‘भिआइपी’ समूह हो, हामी नेपालको हिमाल चढ्न आउँछौँ भनेर एक सय शब्द जतिको इमेल आयो । हामीले त्यसको उत्तर दियौँ । त्यसपछि उहाँहरूले हामीले धेरै कम्पनीहरूको बारेमा बुझ्यौँ, त्यसमध्ये तपाईँहरूको कम्पनी अनुभव र काम गरिरहेको हिसाबले मन पर्यो हामी तपाईँहरूको कम्पनीमार्फत आउने भयौँ भनेर भन्नु भयो ।
हामी खुसी त भयौँ । तर बहराइनको राजकुमार जस्तो मान्छे आउने भनेपछि हामीले सुरुमा हो की होइन भनेर पत्याउन सकेनौँ । कुराकानी हुँदै गयो, तपाईँहरूको कम्पनीको एकाउन्ट नम्बर पठाउनु पर्यो भन्नु भयो । त्यसपछि उहाँहरूले पैसा पनि हालिदिनु भयो । त्यसपछि हामीलाई साँच्चि नै आउने रहेछ भनेर हामीले त्यही अनुसार तयारी गर्यौँ । यो चाही कोरोनाको महामारी सुरु हुनुअघि कै कुरा हो । त्यसरी आउने भनेर तय भएकै बेलामा कोरोनाको महामारी सुरु भयो ।
कोरोनाको कारणले २०२० को मेमा लोबुचे र अक्टोबरमा मनास्लु आउन पनि नपाउने भयो । पछि चाही उहाँहरूले लोबुचे र मनास्लु एकै चोटि चढ्छौँ, यो तालिमको लागि हो, मनास्लु चढे पनि ठिक छ नसके पनि केही छैन, २०२१ मा हामी सगरमाथा चढ्ने हो भन्नु भयो ।
त्यसपछि उहाँहरूले नेपाल सरकारलाई स्वीकृतिको लागि अनुरोध गर्नु भयो । नेपाल सरकारले पनि एकदमै राम्रो निर्णय गरिदियो । हामीले हाम्रो तर्फबाट पनि सबै प्रक्रियाहरू पुर्याएर सरकारलाई पत्रहरू बुझाउने काम गर्यौँ, यो राम्रो कुरा हो भनेर । सबै सकारात्मक छन् । मेरो बिचारमा उहाँहरू आउनु भनेको सरकारले गर्नुपर्ने एक दमै ठुलो प्रचार यहीबाट हुन्छ । यो देशकै लागि पनि हो र संसारमै लागि पनि महत्त्वपूर्ण छ ।
उहाँहरू त्यसपछि सेप्टेम्बर १६ मा आफ्नै विमानबाट लोबुचे र मनास्लु जानका लागि काठमाडौँ आउनु भयो । काठमाडौँ एयरपोर्टमा मैले खाता लगाइदिने बेलामा राजकुमारले ‘तपाई मिङ्मा हो, मैले तपाई र तपाईँको कम्पनीको बारेमा धेरै चोटि पडेँ’ भन्नु भयो । त्यस बेला मलाई ओहो बहराइनको राजकुमारले पनि मेरो वेबसाइट हेरेछ भनेर गर्व अनुभूति भयो ।
यो आरोहणको लागि लोबुचेमा हामी २५–२६ जना शेर्पा गाइडहरू छौँ । त्यसपछि अरू स्टाफ र पोर्टरहरुको कुरा गर्दा धेरैले रोजगारी पाएको छ । मनास्लुमा हामीसँग अहिले ५० जना शेर्पा र ४० जना कुक तथा अरू स्टाफहरू छौँ । हजार भन्दा धेरै भरिया त्यसमा संलग्न छन् । उनीहरू सबैले रोजगारी पाएका छन् । त्यो भन्दा पनि महत्त्वपूर्ण, संसारका मानिसले नेपालको हिमालको महत्त्वका बारेमा थाहा पाएका छन् । कोरोनाको यस्तो महामारीको बेला पनि यस्तो हाइ प्रोफाइल मानिसले हिमाल चढ्नु भनेको सरकार र हामी नेपालीहरूको लागि गर्वको कुरा हो जस्तो लाग्छ । यतिको ‘हाइ प्रोफाइल एक्सिपिडिसन’ अहिलेसम्म भएको थाहा छैन ।
यसलाई म पैसासँग जोड्न चाहन्न । यसबाट हुने आम्दानी एउटा पाटो हो, त्यो भन्दा पनि यसले नेपालको पर्वतारोहणलाई गर्ने प्रचार धेरै माथि छ । यसले कोरोना पछि नेपालको पर्यटनको निक्कै राम्रो प्रचार हुने भयो, पर्यटन क्षेत्रमा धेरै उपलब्धि हुने छ । यतिको प्रचार गर्नका लागि नेपाल सरकारले ५०/६० करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्थ्यो, यो कुरा फ्रीमा संसार भरी भइरहेको छ । यो हामी नेपालीहरूको लागि धेरै गर्व कुरा हो ।
यो सेभेन समिट कम्पनीको कुरा होइन, संसार भरी देशको प्रचार भएको छ । धेरैले यो अवस्थामा रोजगारी पनि पाएको छ । अर्को एउटा कुरा उहाँहरूले आफ्नो देशबाट एउटा सिन्को पनि ल्याउनु भएको छैन । लुगाफाटा देखि सबै कुरा नेपालमा किनेका छन् । त्यसको अर्थ उहाँहरूले सबै खर्च यही गर्नु भएको छ । त्यसले पनि धेरैलाई राहत मिलेको छ । धेरैको परिवारको उद्धार भएको छ ।
उहाँहरूले २०२१ मा बहराइनको झन्डा सगरमाथाको चुचुरोमा पुर्याउने भन्ने जुन इच्छा राख्नु भएको छ । त्यो सफल हुने छ भन्ने मलाई विश्वास छ ।
सफल हुन्छ भन्ने विश्वास छ : कामी रिता शेर्पा
यो आरोहण सेभेन समिटले आयोजना गरेको हो । म २०१८ देखि त्यसको ब्रान्ड एम्बेसडरको रूपमा रहेको छु । मनास्लु हिमाललाई चाही किलर माउन्टेन भन्ने गरिन्छ । किनभने पहिले यसमा धेरै मानिस मरेको थियो ।
सरकारले यो स्वीकृति दिएको एक दम राम्रो छ, यसको म्यासेज एक दम राम्रो जान्छ । यस्तो महामारीको बेला पनि नेपालको हिमाल चढ्न आउनु भनेको नेपालको लागि ठुलो समाचार हो । विदेशीहरू जो आउन तम्सिरहेका छन्, नेपाल सरकारको नियमहरू फलो गर्यो भने पाउने रहेछ भन्ने उनीहरूलाई जानकारी हुने छ ।
मनास्लुको बेस क्याम्पको नेतृत्व मिङ्मा शेर्पा र छाङ दावा शेर्पाले गर्नु हुनेछ भने समिट गर्ने टोलीको नेतृत्व टासी लाक्पा शेर्पा र मैले गर्नेछु । यसमा हामी पाँच जना त विश्व कीर्तिमान कायम गरेका शेर्पाहरू नै छौँ । हामी धेरै अनुभवी गाइडहरू छौँ । त्यसैले यो आरोहण सय प्रतिशत नै सफल हुन्छ भन्ने लागेको छ ।
उहाँहरूको सपना सगरमाथा चढ्ने हो : छाङ दावा शेर्पा
कोभिड–१९ का कारण अपनाउनु पर्ने सबै प्रोटोकलहरू अपनाएर लैजाने हो । उहाँहरू अहिलेसम्म हिमालै नदेखेको मान्छेहरू हो । समुद्री सतह बस्ने मान्छेहरू । लोबुचे तालिमको लागि जाने हो, यो १५ दिनको हुनेछ । त्यहाँ हामीले ८ हजारको हिमाल चढ्नका लागि तालिमहरू दिने छौँ । उहाँहरू कोरिन्टिन बसेकै बेला सबै सामानहरू मिलाई दिएका छौँ । लोबुचे गएर चाही ती समानहरू हिमालमा कसरी प्रयोग गर्ने भन्ने कुराहरू सिकाउने छौँ । त्यसका लागि मेरा दाजुहरू मिङ्मा र तासीसँगै २६ जना गाइडहरू जाँदै हुनुहुन्छ । यो ६१०० मिटरको हिमाल हो । तालिम गर्दै त्यो चढिसकेपछि उहाँहरू हेलिकप्टरमा काठमाडौँ फर्कनु हुनेछ । काठमाडौँ बस्ने नबस्ने भन्ने कुराहरू उहाँहरूको अवस्थामा भर पर्छ । तर हाम्रो अहिलेसम्मको योजना अनुसार उहाँहरू दुई दिन काठमाडौँ बस्नु हुनेछ ।
काठमाडौँबाट हेलिकप्टरमा गोरखाको सामा गाउँ जानेछ । त्यसपछिको मनास्लु आरोहण बढीमा एक महिनाको समय छुटाएका छौँ । मनास्लु ८ हजार १ सय ६३ मिटर अग्लोे हिमाल हो । उहाँहरूको खास सपना चाही सगरमाथा चढ्ने हो । आठ हजार चढ्नु अघि ६/७ हजारको एउटा चढ्ने र सगरमाथा चढ्नु अघि एउटा ८ हजार मिटरको हिमाल चढ्नु पर्ने नियम छ । यो सुरक्षाको लागि पनि हो । हामीले यस आरोहणको लागि स्वीस, चाइना र नेपालबाट पनि मौसम पूर्वानुमान किनेका छौँ । सबै तयारी गरेका छौँ ।
तस्बिरहरु : सेभेन समिट, लाल र अनुप गुरुङ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…