September 29, 2020

तातोपानी फेरी आयो, स्थानीयमा खुशी छायो

काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–५ मा फेरी तातोपानीको मुल पलाएपछि स्थानीय खुशी भएका छन् । फेरी पनि पहिले जस्तै गाउँ गुल्जर हुने आशा पलाएको छ ।

बि.सं. २०७२ सालको भुकम्पले तातोपानी सुकेपछि त्यहाँ धेरै होटलहरु बन्द भएका थिए । तामाङ हेरिटेज ट्रेलमा पर्ने यहाँ स्वदेशी तथा विदेशी पाहुनाको घुइचो नै लाग्थ्यो । तर तातोपानी सुकेपछि आन्तरिक पर्यटक ठप्पै भयो । ट्रेलमा ट्रेकिङका लागि आउने विदेशी पर्यटकका भरमा केही होटलहरु जेनतेन चलिरहेका थिए ।

तर गत भदौ ३१ गते गएको भुकम्पले तातोपानीको मुहान फेरी खोली दिएको छ । राती कति बजे आयो पानी कसैलाई थाहा छैन । बिहान उठ्दा पानी बगिरहेको थियो । स्थानीयले पानी आओस भनेर हरेक महिना दुई पटक पुजासमेत गर्दै आएका थिए ।

‘हामीलाई तातो पानी फेरी आउने आशा थियो । १९९० सालको भुकम्पमा बन्द भएर फेरी आएको भन्ने हामीले सुनेका थियौं’ वडाध्यक्ष बाबु तामाङ भन्छन् ।

उनका अनुसार पहिले तातोपानी ३५/३६ डिग्रीको थियो । अहिले सुरुमा २२.४ डिग्री तातो आयो भने बढेर अहिले ३ वटा मुलमा २८ र एउटामा ३३ डिग्रीसम्म तातो पानी आउन थालेको छ ।

अहिले पानीको मुहान सफा गरेर धारामा जोड्ने काम भइरहेको पनि वडाध्यक्ष तामाङले बताए । उनले भने, ‘कोरोना महामारीका कारण बाहिरका मान्छेहरुलाई आउन दिएका छैनौं, स्थानीयले प्रयोग गरिरहेका छन् ।’

पिलग्रिमस् होटलका सञ्चालक तिलाराम आलेले तातोपानी आएकोमा खुशी ब्यक्त गरे । तामाङ हेरिटेज ट्रेलमा जाने स्वदेशी तथा विदेशीहरु बस्ने र तातोपानीमा नुहाने गर्दा कुनै बेला यो स्थान धेरै चल्तिमा थियो । ‘भुकम्पपछि तातोपानी बन्द हुँदा ठूलो समस्या परेको थियौं’ उनी भन्छन्, ‘फेरी पहिलेको जस्तै राम्रो हुने आशा पलाएको छ ।’

उनलाई केही सुभेच्छुहरुले फोन गरेर तातोपानीका बारेमा सोधेका पनि छन् र कोरोनाको असर कम भएपछि आउँने बताएका छन् ।

यहाँको तातोपानी कुण्डमा डुबेपछि लुतो, भिरिंगी, हातखुट्टा नचल्ने, जोर्नीहरू दुख्ने बिरामीहरू निको हुने गरेको बताइन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…