November 1, 2020

पर्वतारोहीका लागि स्थायी कोष स्थापना गर्न सरकार तयार

काठमाडौँ । पर्यटन मन्त्री योगेश भट्टराईले पर्वतारोहण क्षेत्रमा संलग्नहरूलाई समस्यामा पर्दा सहयोग गर्नका लागि एक स्थायी कोष बनाउन तयार रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ४७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले सरकार र एनएमएका तर्फबाट सञ्चालक रहने गरी एक स्थायी प्रकृतिको कोष बनाउने र त्यसलाई आवश्यकता अनुसार परिचालन गर्ने बताएका हुन् ।

यसअघि सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतारोहणमा लागेका आरोही, कामदार तथा व्यवसायीहरूलाई अप्ठ्यारो पर्दा सघाउनका लागि एनएमएले उठाउने र सरकारले उठाउने हिमालहरूको रोयल्टीबाट दश/दश प्रतिशत जम्मा गरेर एउटा ‘बास्केट फन्ड’ प्रस्ताव गरेका थिए ।

‘विभिन्न कीर्तिमान कायम गरेर देशको नाम राखेका आरोहीहरू समस्यामा परेको बेला राज्यले कसरी हेर्ने भन्ने प्रश्न उठ्दै आएकोछ’ मन्त्री भट्टराईले भने, ‘ज्यानलाई जोखिममा राखेर देशको नाम राख्ने आरोहीहरूलाई समस्या पर्दा खर्च गर्ने गरी स्थायी प्रकृतिको कोष बनाउँ भन्ने मेरै प्रस्ताव हो, आज फेरी सम्झाउनु भयो । सरकार यसका लागि तयार छ । सरकारले रकम मात्र होइन, त्यसलाई अघि बढाउन सबै प्रकारको सहयोग गर्न तयार छ ।’

त्यसै गरी ककनीमा रहेको आरोही स्मारक पार्कको पनि ठोस प्रस्ताव ल्याउन उनले आग्रह गरेका छन् । ‘म आफैले पनि ककनीमा अवलोकन गरेका छु’ उनले भने, ‘त्यहाँ अन्तर्राष्ट्रिय स्तरको संरचना बनाउने कुरामा सरकारको सहयोग रहन्छ ।’ ककनीमा एनएमएले ११६ रोपनी सरकारी जग्गाको भोगाधिकार लिएर स्मारक पार्क तथा पर्वतारोहण तालिम सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष लामाले एनएमएले पर्वतारोहणमा सरकारको एउटा प्राविधिक सहयोगीको रूपमा काम गर्दै आएको बताएका थिए । उनले १७६ हिमालहरू सरकारले आरोहणको लागि खुलाए पनि त्यसको प्रचार प्रसार नभएको भन्दै एनएमएलाई दिएमा त्यसको प्रवर्द्धन गर्न सकिने बताए । अहिले एनएमएले २७ वटा हिमालको प्रवर्धन तथा रोयल्टी उठाउने काम गर्दै आएको छ । एनएमएले उठाउने रोयल्टीको २५ प्रतिशत प्रदेश, २५ प्रतिशत स्थानीय सरकार, ५ प्रतिशत नेपाल माउन्टेनियरिङ एकेडेमीलाई दिएर ४५ प्रतिशत एनएमएले राख्दछ । त्यसको १५ प्रतिशत प्रशासनिक खर्च छुटाएर बाँकी रकमबाट प्रवर्द्धनात्मक काम गर्ने गर्दछ ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एसोशिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतारोहणमा संलग्नहरूको लागि आवश्यक पर्दा खर्च गर्ने गरी ल्याइएको कोषको अवधारणमा आफ्नो समर्थन रहेको उल्लेख गरे ।

एनएमएका सल्लाहकार डा. गणेश गुरुङले एनएमए ४७ वर्षको लक्का जवान भइसकेकोले अव दुई वटा कुरामा जोड दिनु पर्ने बताए । व्यावसायिकता र आर्थिक आत्मनिर्भरता अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे । डा. गुरुङले कम्तीमा २५ देखि ३० प्रतिशतसम्म खर्च आफै जुटाउन सक्ने अवस्थामा पुर्‍याउनु पर्ने बताए । कार्यक्रममा एनएमएका महासचिव कुलबहादुर गुरुङले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…