मानहुँकोटलाई सहकारीमार्फत व्यवस्थापन गर्न सुझाव
काठमाडौँ । मानहुँकोटमा घुमफिरमा जानेहरू बढ्न थालेपछि त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा पनि विभिन्न कोणबाट छलफल हुन थालेको छ ।
यही सन्दर्भमा गण्डकी प्रदेशका पर्यटक वर्ष संयोजक तथा पर्यटनविद् जुद्ध बहादुर गुरुङले समुदायलाई समेटेर सहकारीको माध्यमबाट उक्त क्षेत्रको व्यवस्थापन गर्न सकिने सुझाव दिएका छन् ।
हालै उक्त क्षेत्रको अवलोकन भ्रमण गरेर स्थानीयवासी तथा जनप्रतिनिधिसँग परामर्श गरेका गुरुङले स्थानीय समुदायकै अगुवाइमा समुदायले नै फाइदा पाउने गरी उक्त क्षेत्रको व्यवस्थापन सहकारीमार्फत गर्न सकिने सुझाएका हुन् ।
‘हाम्रो सन्दर्भमा यो अलि नयाँ सोच पनि हो, यसले त्यस स्थानको स्वामित्व र फाइदा दुवै सहकारीमार्फत स्थानीयले प्राप्त गर्नेछन्’ उनले हाइलाइट्स टुरिजमसँग भने, ‘यसो गरिएन भने त्यसको फाइदा टाठा बाठा र बाहिरबाट जाने व्यवसायीले मात्र लिन सक्छन् ।’
तनहुँको व्यास नगरपालिका ५ मा पर्ने उक्त स्थानमा अहिले दिनहुँ दृश्यावलोकनका लागि जानेहरूको सङ्ख्या बढिरहेको छ । यद्यपि त्यहाँ खानेपानी र ट्वाइलेटको समेत व्यवस्था छैन ।
उक्त स्थानमा हाल सात घर मगर समुदायको बसोबास रहेको छ । साथै ८ सय रोपनी निजी र करिब दुई सय रोपनी पर्ती जग्गा रहेको बताइन्छ । हाललाई नगरपालिकाले निजी जग्गाको किनबेचमा रोक लगाएको छ । केही स्थानमा टेन्ट हालेर बस्ने व्यवस्था समेत गरिएको छ ।
त्यहीका स्थानीय र जग्गाधनीहरूसमेत समेटेर सहकारी गठन गर्ने हो भने सरकारी अनुदानहरूलाई पनि त्यही मार्फत परिचालन गर्न सकिन्छ । निजी र सरकारी जग्गा सबैलाई त्यही सहकारी भित्र राखेर व्यवस्थित योजना बनाएर अघि बढ्न सक्यो भने पर्यटकका लागि सुविधा सम्पन्न गन्तव्य बन्ने गुरुङको भनाई रहेको छ ।
उक्त स्थानको डिलमा सुरक्षाका लागि फलामे बार यसअघि नै लगाइएको छ भने नगरपालिकाले भ्यु टावर बनाउन सुरु गरेको छ । विद्युत् पुगिसकेको भए पनि खानेपानीको अभाव छ भने बाटोको ट्र्याक मात्र खुलेको छ ।
गुरुङका अनुसार सहकारीले व्यवस्थापन गर्दा विद्यार्थी नभएर खण्डहर बनेको प्राथमिक स्कुलको संरचनालाई पर्यटक बस्ने पाहुना घरको रूपमा विकास गर्न सकिने तथा ठुला संरचनाहरू निर्माण नगरेरै पनि आधारभूत सेवाहरू दिन सकिने सम्भावना रहन्छ ।
खानेपानी, ट्वाइलेट, सवारी पार्किङ स्थल, दृश्यहरू राम्रोसँग हेर्नका लागि वाइनकुलरहरुको व्यवस्था तथा उक्त स्थानबाट देखिने हिमाल, पहाड, फाँट र बस्तीहरूको नाम नक्सासहितको बोर्ड राख्ने काम जरुरी रहेको उनको भनाई छ । साथै थप पर्यटकीय गतिविधिहरूका लागि पनि काम गर्न सकिन्छ ।
मानहुँकोटको उत्तर र दक्षिणतिर विद्युत् उत्पादनको लागि दुई स्थानमा जलाशय बन्ने तयारी रहेकोले यसले उक्त स्थानलाई थप आकर्षक बनाउने बताइएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…