माउन्टेन फ्लाइडमा अफर : एउटा टिकट किने अर्को निशुल्क
काठमाडौँ । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु हुने भएको छ । सरकारले खुला गरेपछि एयरलाइन्सहरुले माउन्टेन फ्लाइट पुन: सुरु गर्ने तयारी गरेको हो ।
यसका लागि एयरलाइन्सहरुले अफरको समेत घोषणा गरेका छन् । यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना सार्वजनिक गरेको छ । उसले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेको हो । यतीले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने यतीले आइतवार विज्ञप्तिमार्फत जनाएको छ । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।
यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जारी गरेको बिज्ञप्तीमा आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको उल्लेख छ ।
‘गाउँदै नेपाली गाथा हेरौं आफ्नै सगरमाथा’ भन्ने सन्देशसहित यतीले शनिवारी पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यतीले नेपाली यात्रुका लागि रु आठ हजार ९९९ र पालमा बसोवास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४९९ मा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन् ।
पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन् । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ ।
नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ देखि अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । वायुसेवा सञ्चालक सङ्घ नेपालका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…