December 8, 2020

बढ्यो सगरमाथाको उचाई

Everest Base Camp Trek
फाइल फोटो : सगरमाथा आधार शिविर ।

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ एक मिटर भन्दा केही कम बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले एकै पटक सार्वजनिक गरेको मापण विवरण अनुसार सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर उल्लेख छ । यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मानिंदै आएको थियो ।

नेपाल र चीनले मंगलबार दिउँसो एकै पटक भर्चुअल्ली सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । नेपालको नापी विभागमा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहितको टोली र चीनमा चिनियाँ टोलीद्वारा भर्चुअल रूपमा एकै पटक उचाई सार्वजनिक गरेका हुन् ।

सगरमाथामा देखिएको ट्राफिक जाम । तस्बिर : पुरबहादुर गुरुङ । हाइलाइटस् टुरिजम ।

नापी विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन दुवैतिरबाट आरोहण हुँदै आएको छ ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । उनैको नाबाट स्थानीय भाषामा चोमलुङ्मा भनिने सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । पछि नेपालीमा सगरमाथा राखियो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमति जनाएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…