January 26, 2021

विश्वलाई सम्भव छ भन्ने सन्देश दिन चाहन्थ्यौँ : कीर्तिमानी आरोही निर्मल पुर्जा

तस्बिर: कीर्तिमानी आरोही निर्मल पुर्जाको फेसबुकबाट ।
काठमाडौं । विश्वको दोस्रो अग्लो शिखर पाकिस्तानस्थित केटुको हिउँदे याममा आरोहण गरेर वाही वाही कमाएका आरोहण टोली नेता निर्मल पुर्जाले विश्वलाई सामूहिक प्रयासबाट असम्भव भन्ने कुरा नभएको सन्देश दिन चाहेको बताएका छन् ।
मङ्गलवार बिहान त्रिभुव विमानस्थलमा आइपुगेका टोलीको भव्य स्वागत गरिएको थियो । त्यही पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘हामी तेस्रो विश्वका नागरिक हौँ, तर हाम्रो छाती विशाल छ । अहिलेको अवस्थामा सामूहिक प्रयासबाट असम्भव केही नभएको हामी विश्वलाई सन्देश दिन चाहन्छौँ ।’
उनले कोभिड १९ को महामारी र जलवायु परिवर्तनको प्रकोपबाट विश्व आक्रान्त भइरहेको बेला हिउँदे याममा असम्भव जस्तै मानिएको केटुको सफल आरोहणले सामूहिक प्रयासबाट असम्भव केही नभएको देखाएको बताएका हुन् । साथै उनले विश्वलाई त्यो सन्देश स्पष्ट रूपमा गएको पनि उल्लेख गरे ।
‘हामी सबैले बराबरी प्रयास गर्‍यौँ, सबैले उत्तिकै आफ्नो ज्यानलाई बाजी थाप्यौँ, त्यही भएर हामी सबैले एकै पटक केटुको चुचुरामा पाइला राख्यौँ, यो सामूहिक प्रयासको परिणाम हो’ उनले भने । यस्ता कीर्तिमानहरू एक्ला एक्लै हुँदै आएको भए पनि आफूहरूले सल्लाह गरेर नै सामूहिक कीर्तिमान बनाएको उनको भनाई थियो ।
आरोहण दलका नेतृत्व पुर्जाले गरेका थिए भने दलका सदस्यहरूमा मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।
उनले पाकिस्तानी सरकार र जनताले दिएको माया, सत्कार र सम्मानको पनि सम्झना गरे । टोलीलाई पाकिस्तानमा पनि भव्य स्वागत तथा सम्मान गरिएको थियो । राष्ट्रपति डा. अरिफ अल्भीलेसमेत निवासमा बोलाएर सम्मान गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सचिव, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाले स्वागत गरेका थिए भने राष्ट्रिय झन्डाका साथ मोटरसाइकल र्‍यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड पुर्‍याइएको छ । दिउँसो प्रधानमन्त्री केपी ओलीले पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…