लिगलिगे साइकल दौड हुँदै, यस्ता छन् सहभागीलाई पुरस्कार र सुविधा
काठमाडौँ । लिगलिग कोटको ऐतिहासिक पक्ष, संस्कृति विविधता र प्राकृतिक सुन्दरताको उजागर गर्दै पर्यटन विकास गर्ने उद्देश्यले प्रथम लिगलिगे साइकल दौड हुन लागेको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना हुने साइकल दौडको आयोजना लिगलिग भिलेज स्पोर्टसले गर्न लागेको हो । दौडको प्रमुख प्रायोजकको रूपमा नेपाल पर्यटन बोर्ड र पालुङ्टार नगरपालिका रहेका छन् भने लमजुङको राइनास नागरपालिका र गोरखाको सिरानचोक गाउँपालिकाले पनि सहयोग गरेको छ ।
लिगलिग कोटले ऐतिहासिक विरासत मात्र बोकेको छैन, यहाँ बसोबास गर्ने मगर, ठकुरी तथा दलितहरूको सांस्कृतिक विविधता पनि यहाँको विशेषता हो । साथै यहाँबाट देखिने उत्तर–पूर्व तर्फको मनोरम हिमशृङ्खला र दक्षिण–पश्चिम तर्फका हरिया महाभारत पर्वत शृङ्खलाका साथै फाँटहरूले त्यहाँ पुग्ने जोकोहीलाई पनि आनन्दित बनाउँछ ।
‘इतिहास, संस्कृति र प्रकृतिको यति सुन्दर सङ्गम भएर पनि अझै यस क्षेत्रको पर्यटकीय विकास हुन सकेको छैन, यसको उजागर गर्दै साहसिक खेलको माध्यमबाट पर्यटन विकासको उद्देश्यले साइकल दौड प्रतियोगिता आयोजना गर्न लागेका हौँ’ आयोजक संस्था स्पोर्टसका अध्यक्ष सञ्जीव रानाले भने । उनले साइकल दौडले यस क्षेत्रको उजागर गरेर पर्यटनको विकासमा सघाउ पुर्याउनुका साथै वातावरण सम्बन्धमा स्थानीयलाई चेतना पनि जगाउने बताए ।
नेपाल साइकल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको यस साइकल दौड गोरखाको पालुङटार नगरपालिकाको लिगलिगकोबाट सुरु भएर नगरपालिकाका साथै छिमेकी गाउँपालिका सिरनचोक र लमजुङको राइनास नगरपालिकाका केही भाग पुगेर पुन: लिगलिग कोट मै आइपुग्ने छ । आयोजकले साइकल दौड अन्तर्राष्ट्रिय मान्यता कायम राखी नेपाल साइक्लिङ सङ्घको राष्ट्रिय नियम अनुसार खेलाइने जनाएको छ ।
साइकल दौडका प्रतियोगीहरूलाई तीन समूहमा पुरुष र महिला गरी विभाजन गरेर पुरस्कारको व्यवस्था गरिएको छ । खुलातर्फ जो सुकैले पनि सहभागी हुन पाउने छन् । यसमा प्रथम हुने पुरुष र महिलाले २५ हजार रुपैयाँ नगदका साथै मेडल पाउने छन् । यस समूहमा १० औँ स्थान प्राप्त गर्ने खेलाडीसम्मले पुरस्कार र मेडल पाउने छन् । त्यसै गरी गण्डकी प्रदेश र पालुङटार नगरपालिका भित्रकालाई मात्र पनि पुरस्कारको व्यवस्था गरिएको छ । गण्डकी प्रदेशमा प्रथम हुने पुरुष र महिलाले ५ हजार रुपैयाँ नगदका साथै मेडल पाउने छन् भने पालुङटार नगरपालिकाभित्रको प्रतियोगितामा प्रथम हुने पुरुष र महिला दुवैले २५ सय रुपैयाँका दरले नगद र मेडल पाउने छन् । यो दुवै समूहमा तेस्रो स्थानसम्मका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।
लिगलिगकोट चौबिसे राज्यकालमा छुट्टै राज्य थियो । यहाँका मगर घले जातिमा दसैँको दिन लिगलिग कोटसम्म दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने लोकतान्त्रिक परम्परा थियो । पछि लमजुङका ठकुरी राजकुमार द्रव्य शाहले यहाँको शासन हातमा लिए । पछि उनैका सन्तान पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाले ।
‘आधुनिक नेपालको जग बसाल्ने स्थान मात्र होइन, तत्कालीन परिस्थितिमा दौडेर जित्ने एक वर्षका लागि राजा हुने लोकतान्त्रिक अभ्यास गर्ने ठाउँ पनि लिगलिगकोट हो’ पालुङटार नगरपालिकाका प्रमुख इ. दीपक बाबु कँडेलले भने, ‘हामी यस क्षेत्रको पर्यटन विकास गरेर यहाँका स्थानीयको जीवनस्तर उकास्ने कोसिसमा छौँ ।’
त्यही दौडेर राजा हुने परम्पराको समेत झल्को दिने गरी ‘लिगलिगे साइकल दौड’ आयोजना हुन लागेको हो । आयोजकले यस कार्यक्रमको माध्यम बाट लिगलिग कोटको प्रचार प्रसारमा सहयोग पुग्ने तथा यस ठाउँको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आशा लिएको छ ।
दौडको समापन पछि सांस्कृतिक महोत्सव पनि हुने जनाइएको छ । सांस्कृतिक महोत्सवमा स्थानीय कलाकारहरूले सोरठी, चुड्का, लाखे, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नेछन् भने सहभागीहरूले पनि नाचेर मनोरञ्जन लिन सकिने जनाएको छ ।
कार्यक्रम तालिका
कार्यक्रम मिति: २०७७ फागुन ७ गते, शुक्रबार
रजिस्ट्रेसन खुल्ला हुने मिति: २०७७ माघ ०७ गते बाट सुरु
रजिस्ट्रेसन अन्तिम मिति २०७७ माघ २७ गते
स्थानः पालुङटार नगरपालिका–२, आँपपिपल, लिगलिगकोट
टेक्निकल ब्रिफिङ विहान ९:०० बजे
उद्घाटनः विहान १०:०० बजे
दौड सुरु हुने समयः बिहान ११ बजे
पुरस्कार वितरण तथा समापनः दिउसो ३:०० बजे
रजिस्ट्रेसन शुल्क तथा पाउने सुविधाहरू
प्रतियोगितामा भाग लिनका लागि नेपाली नागरिकले १५०० रुपैयाँ, सार्क मुलुकका नागरिकले ५००० रुपैयाँ र सार्क बाहिर मुलुकका नागरिकले १०००० हजार रुपैयाँ रजिस्ट्रेसन शुल्क बुझाउनु पर्ने छ । रजिस्ट्रेसन गरी सकेपछि पृथ्वी राजमार्गको डुम्रेबाट कार्यक्रम स्थलसम्म र कार्यक्रम स्थलबाट डुम्रेसम्म आवश्यकता अनुसार पिक एन्ड ड्रपको व्यवस्था गरिएको छ । मिति २०७७ फागुन ०६ गते दिउसो १:०० बजे डुम्रेबाट पिक अप र मिति २०७७ फागुन ०८ गते लिगलिगबाट डुम्रेसम्म विहान ९ बजे ड्रप गरिनेछ । त्यसै गरी लिगलिगकोट होमस्टे तथा टेन्ट हाउसहरूमा दुई रात बसोबासको व्यवस्था गरिएको छ । एक पटकको ब्रेक फास्ट, चार छाक खानाको व्यवस्था पनि गरिएको छ । खानामा भने स्थानीय स्तरमा नै उत्पादित तथा बनाइएको होमस्टेको खाना खुवाइने आयोजकले जनाएको छ । लिगलिगे साइकल दौडको सौजन्य टिसर्टको पनि दिइने छ ।
रजिस्ट्रेसन गर्नका लागि लिगलिगे साइकल दौडको फेसबुक पेजको लिङ्कमा गएर अनलाइन फर्म भर्ने र शुल्क लिगलिग भिलेज स्पोर्टस्को इसेवा पेमा जम्मा गर्नु पर्नेछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…