February 3, 2021

गुर्दु्म बन्यो पिकनिक स्पट

फेदीखोला । घुमफिर र पिकनिकका लागि फेदीखोला गाउँपालिकाको वडा नं. १ स्थित गुर्दुम उपयुक्त स्थान बनेको छ ।

पोखरा र स्याङ्जाको सदरमुकाम स्याङ्जा बजार दुवैतर्फबाट १७ किलोमिटरको दुरीमा पर्ने गुर्दुम सिद्धार्थ राजमार्गको कुभिण्डे भञ्ज्याङ्बाट २ किलोमिटरको दुरीमा छ । कुभिण्डेबाट हिंडेर गए ३० मिनेट र गाडीमा जाँदा १० मिनेटमा पुगिने गुर्दुममा पछिल्लो समय घुमफिर र पिकनिकका लागि आउनेहरु बढेका छन् ।

उक्त स्थानमा पिकनिकका लागि सजिलो होस् भनेर बिजुली र पानीको व्यवस्था गरिएको छ भने ट्वाइलेट र ट्रस पनि वडा कार्यालयले हालै मात्र निर्माण गरिदिएको हो । वडाध्यक्ष खिमबहादुर क्षेत्रीका अनुसार फोहोर व्यवस्थापनको पनि व्यवस्था गरिएको छ । क्षेत्रीले उक्त स्थानबाट पोखरा भ्याली र माछापुछ्रे एकै पटक देख्न सकिने बताए ।

‘मौसम खुलेको बेला धौलागिरी, अन्नपूर्ण, माछापुछ्रे हिम श्रृंखला हेर्न सकिन्छ’ उनले भने, ‘अरु बेला फट्टफुट्ट मानिसहरु आएपनि शनिवार र विदाको दिन ३/४ समुह आउने गरेका छन् ।’

शितल हावा चल्ने यस स्थानमा पिकनिक गर्नेसँग वडा कार्यालयले दुई हजार रुपैयाँ उठाउने गरेको छ । यस स्थानबाट रामकोट र अयरपानी होमस्टे तथा गोरखा स्मारक नजिकै रहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…