८ हजार मिटर माथिका १४ हिमाल चढ्ने मायाको अठोट, प्रधानमन्त्रीद्वारा सफलताको कामना
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का उपाध्यक्ष तथा एभरेस्ट समिटर्स एसोसिएसनका अध्यक्ष माया शेर्पाले ८ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल आरोहण गर्ने भएकी छन् ।
यही क्रममा आइतबार उनी गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण (८०९१मि.) र धौलागिरि (८११५ मि.) हिमाल आरोहणको लागि प्रस्थान गरेकी छन् । यही क्रममा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै शुभकामना दिए ।
‘प्रधानमन्त्री ओलीले दुवै हिमालहरूको सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्रीले शेर्पालाई आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभयो’ नेपाल पर्वतारोहण सङ्घले जारी गरेको अनौपचारिक प्रेस नोटमा भनिएको छ । यसअघि नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले सफलताको शुभकामना दिंदै संघको झण्डा हस्तान्तरण गरेका थिए ।
‘केही वर्षदेखि म यो अभियानमा छु, ८ हजार मिटर भन्दा माथिको हिमालहरू चढ्दै आएको छु’ मायाले हाइलाइट्स टुरिजमसँग भनिन्, ‘कोरोनाका कारण गत वर्ष हिमाल चढ्न पाइएन, यो वर्षदेखि फेरी निरन्तरता दिंदैछु ।’
उनको अन्नपूर्ण आरोहणको योजना गत वर्षकै हो, कोरोनाले आरोहण रोकिएपछि यो वर्ष अन्नपूर्ण र धौलागिरि दुवै हिमाल आरोहणको योजना बनेको हो । मायाका अनुसार अबको एक महिना भित्रमा अन्नपूर्ण आरोहण गर्ने र त्यसपछि धौलागिरिको आरोहणमा जाने योजना छ ।
‘एकै सिजनमा दुई ठुला हिमालको आरोहण चुनौतीपूर्ण भए पनि अन्नपूर्णको आरोहण चाँडो हुने हुँदा अलि सहज होला भन्ने लागेको छ’ उनले भनिन् । अन्नपूर्णमा मायाको आरोहण व्यवस्थापन पीक प्रमोसनले गरेको छ भने धौलागिरिको सेभेन समिटले गर्दैछ ।
मायाले सन् २०२४ सम्ममा ८ हजार मिटर माथिका सबै १४ वटा हिमाल आरोहण गरिसक्ने योजना बनाएकी छन् । उनी भन्छिन्, ‘यो खर्चिलो काम हो, प्रायोजकमा पनि भर पर्छ ।’
ओखलढुङ्गा जिल्लाको पातलेमा जन्मेकी माया शेर्पाका बाबु ट्रेकिङ गाइडको काम गर्ने भए पनि पर्वतारोहणमा लागेको परिवारको पहिलो व्यक्ति माया नै हो । ट्रेकिङ गाइड हुँदै सन् २००३ बाट पर्वतारोहणमा लागेकी मायाले अझै त्यही पेसालाई निरन्तरता दिइरहेकी छन् । आफै कम्पनी चलाउने माया अहिले आरोहण व्यवस्थापक पनि हुन् ।
विगत १७ वर्षदेखि पर्वतारोहणमा रहेका मायाले हालसम्म सर्वोच्च शिखर सगरमाथाको तीन पटक सफल आरोहण गरिसकेकी छन् भने ५ वटा आठ हजार मिटर भन्दा माथिका हिमालहरू आरोहण गरिसकेकी छन् ।
सन् २००४ मा चोयू (८२११मि.) उचाइको हिमाल आरोहण गरेर आठ हजार मिटर भन्दा माथिका हिमालहरू आरोहण सुरु गरेकी मायाले ८८४८.६८ मिटर अग्लो सगरमाथा तीन पटक आरोहण गरिसकेकी छन् भने ८६११ मिटरको पाकिस्तानस्थित केटु, नेपालमै रहेको ८१५६ मिटरको मनास्लु र ८५६३ मिटर अग्लो कञ्चनजंगको आरोहण गरिसकेकी छन् ।
हालसम्म थोरै सङ्ख्यामा मात्र महिलाले ८ हजार मिटर भन्दा माथिका हिमालहरूको आरोहण गरेका छन् भने यो अभियान सफल भएपछि दक्षिण एसिया र नेपालमै ८ हजार माथिका १४ वटा हिमाल आरोहण गर्ने पहिलो महिला आरोही बन्ने छिन् ।
हालसम्म पाँच नेपाली आरोहीले ८ हजार मिटर भन्दा अग्लो १४ वटा हिमाल आरोहण गरेका छन् भने विश्वभरिबाट ४३ जनाले सफलता पाएका छन् ।
१४ वटा हिमालमा मायाले आरोहण गरिसकेका पाँच वटाका साथै नेपालकै धौलागिरि, अन्नपूर्ण, ल्होत्से र मकालु छन् भने पाकिस्तानको नागा पर्वत, गसेन्ब्रुम पहिलो र गसेन्ब्रुम दोस्रो, ब्रोड पीक र चीनको सिंसापा १४ वटा हिमाल भित्र पर्दछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…