March 23, 2021

पर्वतीय पथ प्रदर्शक इजाजत पत्र लिने कामी रिता शेर्पा पहिलो

कामी रिता शेर्पा ।

काठमाडौँ । सरकारले पहिलो पटक पर्वतीय पथ प्रदर्शकको लागि इजाजत पत्र जारी गरेको छ । यसअघि पर्वतीय पथ प्रदर्शकको लागि छुट्टै परिचय पत्र जारी गर्ने व्यवस्था थिएन ।

पर्यटन विभागले जारी गरेको पहिलो इजाजत पत्र (परिचय पत्र) सर्वोच्च शिखर सगरमाथाको २४ पल्ट आरोहण गरेका कीर्तिमानी आरोही कामी रिता शेर्पालाई दिइएको छ । उनको इजाजत पत्र नम्बर ०००१ रहेको छ । ”माउन्टेन गाइड आइडी कार्ड” लेखिएको परिचय पत्रमा स्थायी ठेगाना, जन्म मिति, नागरिकता नम्बर, फोन नम्बर र रक्त समूह उल्लेख गरिएको छ । इजाजत पत्र पाँच वर्षको लागि जारी गरिएको हो ।

”पहिलो पटक पर्वतीय पथ प्रदर्शकको इजाजत पत्र जारी गरिएको छ” विभागका निर्देशक मिरा आचार्यले भनेकी छन् ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० को चौथो संशोधन बमोजिम इजाजत पत्र जारी गरिएको हो । यसअघि विभागले एक सार्वजनिक सूचना जारी गरेर चैत १ गतेदेखि पर्वतीय पथ प्रदर्शकको लागि अनलाइन आवेदन खुला गरिएको जानकारी गराएको थियो । विभागको वेबसाइटमा आवेदन भर्न सकिन्छ ।

२१०० रुपैयाँ दस्तुर तोकिएको पर्वतीय पथ प्रदर्शकका लागि विदेशी संस्थाबाट पथ प्रदर्शकको प्रमाणपत्र जारी गरिएको भए नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी) बाट लिएको समकक्षताको प्रमाणपत्रको प्रतिलिपि वा सिटीभिटीबाट तह ४ को पर्वतारोहण गाइडको प्रमाणपत्रको प्रतिलिपि वा नेपाल पर्वतारोहण सङ्घबाट प्राप्त गरेको रातो किताबको प्रतिलिपि आवश्यक पर्ने उल्लेख छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…