March 23, 2021

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

सोलुखुम्बु । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ ।

विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए । टेलिफोन सम्पर्कमा उनले केही दिनमै शिविर एकतर्फ बाटो निर्माणमा जाने तयारी भइरहेको बताएका छन् । आधारशिविर पुगेको टोलीले अहिले (रुट) बाटो हेर्ने र आवश्यक तयारीको बारेमा जानकारी लिने काम भने भइसकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन् ।

उनका अनुसार बाटो निर्माण गर्ने टोलीमा पाल्देन नामगेल शेर्पा, आङसार्की शेर्पा, मिङ्गमातेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङ्छु शेर्पा र फुछेतर शेर्पा रहेका छन् । आइसफल डाक्टरले सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् ।

रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाङ्ने कामसमेत सोही टोलीले गर्ने आइसफल डाक्टर आङसर्की शेर्पाले बताए । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण हुने उनको भनाइ छ ।

सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको भएपनि सगरमाथा आरोहणका लागि भने कुनैपनि समूहले अनुमति नलिएको निर्देशक मीरा आचार्यले बताइन् ।

सगरमाथा बाहेक अन्य हिमाल आरोहणका लागि भने तीन समूहले अनुमति लिएको छ । अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएका छन् भने चार जनाको एउटा समूहले नुप्त्से र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति पाएका छन् । योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या २० पुगेको छ ।

अघिल्लो वर्ष भने कोरोनाका कारण हिमाल आरोहण बन्द भएको थियो । व्यवसाय ठप्प हुँदा घरव्यवहार धान्न नै मुस्कील परेको व्यवसायी किताव सिं तामाङले बताए । यो सिजनमा पर्यटक आउने आशा लागेको तामाङको भनाइ छ । केही पर्यटक आउनेक्रम रहेको र हिमाल आरोहणका लागि अनुमतिसमेत प्रदान गर्न थालिएसँगै यस क्षेत्रमा लाग्नेमा आशा पलाएको अर्का पर्यटक व्यवसायी तुलबहादुर तामाङले बताए ।

रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…