April 11, 2021

एनएमएको साधारण सभा सम्पन्न


काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३० औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पर्यटन मन्त्री भानुभक्त ढकालले महामारीले सबैभन्दा थिलथिलो भएको पर्यटन क्षेत्रलाई मापदण्डहरू खुकुलो बनाउँदै लगे पनि फेरी सन्त्रास बढेको बताए ।

”तपाईँहरूकै आग्रह र सुझाव अनुसार मापदण्डहरू खुकुलो बनाउँदै लगेको हो, वातावरण सहज बनाउँदै लगिरहेका छौँ” उनले भने, ”तर, फेरी महामारी नराम्रो ढङ्गले अघि बढ्यो भने कष्टपूर्ण अवस्था सामना गर्नु भन्दा अर्को विकल्प छैन ।” उनले विषम परिस्थितिमा सबै जना मिलेर अघि बढ्नु बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले अन्तर्राष्ट्रिय तहमा पर्वतीय पर्यटनको प्रवर्द्धन, पूर्वाधारको विकास र मानव संसाधनको विकासको लागि एनएमएको स्थापना भएको उल्लेख गर्दै केही कामहरू राम्रो भएको बताए ।

उनले तालिम, केही पूर्वाधार विकास तथा रेश्क्युलगायतका काममा राम्रो गरे पनि कमजोरीहरू पनि रहेको उनले बताए । ”अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धनको काम गर्न केही कमजोरी देखिएको छ, पूर्वाधार निर्माणमा पनि देखिने गरी काम हुन सकेको छैन, पर्यटकहरूका लागि विश्रामस्थलहरु बनाउने, आश्रयस्थल बनाउने कामहरू गर्नु आवश्यक छ” उनले भने ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले पर्यटनलाई कोभिडले सबैभन्दा धेरै थला पारेको उल्लेख गर्दै यस क्षेत्रमा रहेका कामदारहरूको रोजीरोटी र व्यवसायीहरूलाई सहुलियतको कुरा अझै पुरा हुन नसकेको उल्लेख गरे ।

साथै उनले देशको इज्जत राख्ने आरोहीहरूलाई राज्यको तर्फबाट सम्मान र सुविधा नदिएको पनि गुनासो गरे । ”देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चम्काउने आरोहीहरूले काम गर्न सक्ने बल हुन्जेल मात्र हो, त्यसपछि बुढ्यौलीमा उनीहरूले उपचार खर्च समेत पाएका हुँदैनन्, दैनिक गुजाराको समेत समस्या हुन्छ” उनले भने, ”यो समस्या समाधानका लागि पर्यटन सम्बन्धी अन्य संघसंस्थाहरुसँग समेत समन्वय गरेर बास्केट फन्डको प्रस्ताव गरेका छौँ, यसलाई कार्यान्वयनको लागि सम्बद्ध सरकारी अधिकारीहरूलाई अनुरोध गर्दछु ।’

उनले इतिहासमा पहिलो पटक माउन्टेन गाइडहरूलाई परिचयपत्र वितरण गरिएकोमा खुसी व्यक्त गरे । ”म खुसी छु, सरकारलाई धन्यवाद पनि दिन चाहन्छु, इतिहासमा पहिलो पटक माउन्टेन गाइडहरूले सरकारको तर्फबाट मान्यता पाएको छ” उनले भने ।

त्यसै गरेर एनएमएले व्यवस्थापन गर्दै आएको हिमालहरूलाई बारम्बार नवीकरण गर्नु पर्दा समस्या भएको उल्लेख गर्दै मन्त्रिपरिषद्बाटै सरकारले अलि लामो समयका लागि दिने गरेमा नवीकरणको झन्झट नहुने बताए ।

हाल एनएमएले २७ वटा हिमालहरूको रोयल्टी उठाउँदै आएको छ ।

कार्यक्रममा एनएमएले संस्थाका संस्थापक तथा सल्लाहकार शम्भु तामाङ, लाक्पा दोर्जे शेर्पा, हरिध्वोज तुलाचन, कमलमान गुरुङ र पर्तेम्बा शेर्पालाई सम्मान गरेको थियो ।

त्यस्तै कुमार खड्गविक्रम साहसिक पुरस्कार अस्ट्रियाका डा. वल्गङ्ग नैरज्, डा. हर्क गुरुङ पर्वतीय पुरस्कार ताडौ काञ्जकी तथा दावा नर्वु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जगदीश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको थियो । त्यस्तै एनएमएले व्यवस्थापन गरेको हिमालहरू चढाएकोमा दश उत्कृष्ट ट्रेकिङ कम्पनीलाई पनि सम्मान गरिएको थियो ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…