April 12, 2021

घोडेजात्राका झलकहरु

काठमाडौँ । घोडे जात्राको अवसरमा टुँडिखेलमा अश्वकलाका विविध रोचक कार्यक्रमहरु प्रदर्शन गरिएको छ । त्यसमा राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प रहेका थिए ।

कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो । कुकुर इमान्दार र आज्ञापालक जनावरका रुपमा लिने गरिन्छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो । अघिल्लो वर्ष कोभिड–१९ को महामारीका कारण साङ्केतिकरुपमा मात्र उक्त जात्रा मनाइएको थियो । यसपटक पनि स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा मनाइएको हो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेकामा पीडित शहरवासीले विभिन्न उपायबाट त्यसलाई मारेपनि प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्छ कि भन्ने भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिदैँ आएको भनिएको छ ।

कार्यक्रमको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख टुँडिखेल पुगेका थिए ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …