April 23, 2021

सानु शेर्पा : विना स्पोन्सर रेकर्ड राख्ने अभियानमा

सानु शेर्पा ।

काठमाडौँ । गएको साता एकै दिन छ महिलासहित ६७ जनाले अन्नपूर्ण पहिलोको आरोहण गरे । ८ हजार ९१ मिटर उचाइको किलर माउन्टेनको रूपमा चिनिने अन्नपूर्णमा एकै दिन यतिका धेरैले आरोहण गर्नु रेकर्ड नै थियो । अझ पहिलो पटक नेपाली महिलाले यसको आरोहण गर्दा चर्चा हुने नै भयो ।

त्यही दिन अन्नपूर्ण पहिलोको आरोहण गर्नेमा पर्वतारोही सानु शेर्पा पनि थिए । धेरैलाई लाग्न सक्ला सानु शेर्पाले पनि चढेछन् । तर, त्यसो होइन, अन्नपूर्ण आरोहणको सबै आरोहीका आआफ्ना उद्देश्य होलान्, त्यस मध्ये सानुको बिशेष उदेश्य छ । उनको त्यो उद्देश्यमा अन्नपूर्णको सफल आरोहणले एक खुट्किलो पार भएको छ ।

सरल तर हिमाल आरोहणमा अब्बल सानु चुपचाप आफ्नो त्यो विशेष उद्देश्य पूर्तिका लागि लागि रहेका छन् । उनको उद्देश्य हो, ”विश्व रहेका ८ हजार भन्दा माथिका १४ वटै हिमाललाई दोहोर्याएर आरोहण गर्ने ।”

अन्नपूर्णको आरोहण पछि उनी अहिले पोखरामा केही दिनका लागि थकाइ मार्दै छन् । त्यसपछि धौलागिरि (८१६७मि.) आरोहणका लागि प्रस्थान गर्ने योजना छ । उनी यो सिजनमा धौलागिरिमा अडिन चाहँदैनन्, त्यसपछि ल्होत्से (८५१६मि.) को आरोहणमा जाने योजना छ ।

”लागि रहेको छु तर कुनै स्पोन्सर छैन” सानुले हाइलाइटस् टुरिजमसँग भने, ”आफ्नो तर्फबाट प्रयास गर्ने हो ।”

हालसम्म विश्वका ८ हजार मिटर माथिको सबै हिमाल दुई पटक चढेको रेकर्ड छैन । सानुले त्यो रेकर्ड बनाएको अवस्थामा नेपाल र नेपाली पर्वतारोहणको नाम विश्व रङ्गमञ्चमा परिचित हुने छ । अझ त्योसँगै हालसम्म ८ हजार माथिका हिमाल बढीमा ३० पटक चढेको रेकर्ड छ । उनको यो अभियान सफल भएमा सम्भवत त्यो रेकर्ड पनि तोडिने छ ।

सानुले हालसम्म सगरमाथा सात, मनस्लु तीन, चीनको सिंसापा, पाकिस्तानमा रहेको नागा पर्वत, गोसेर्व्रुम पहिलो र ब्रोड पीक अनि नेपालकै अन्नपूर्ण पहिलो र चोयू दुई/दुई पटक आरोहण गरिसकेका छन् । नेपालको धौलागिरि, ल्होत्से र मकालु तथा पाकिस्तानमा रहेको के२ र गोसेर्ब्रुम दोस्रो एक/एक पटक आरोहण गरिसकेका छन् । यी पाँच हिमालको दोस्रो आरोहण उनको अभियान हो । उनले यी सबै आरोहणमा २८ पटक ८ हजार मिटर भन्दा अग्ला हिमालको चुचुरा चुमेका छन् । उनी ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटै हिमालको आरोहण गर्ने तेस्रो नेपाली हुन् ।

सानुको जन्म संखुवासभाको मकालु गाउँपालिकाको दुर्गम गाउँमा ४५ वर्ष अघि सन् २०७५ मा भएको थियो । उनले औपचारिक शिक्षा लिन पाएनन्, बाबुआमासँगै खेतिकिसानीमै उनको बाल्यकाल बितेर युवास्थमा प्रवेश गरे । उनले ३१ वर्षको उमेरमा गाउँ छाडेर काठमाडौँमा आइ ट्रेकिङ हुँदै पर्वतारोहणको क्षेत्रमा प्रवेश गरेका हुन् । उनको छोराछोरीहरू काठमाडौँमा बसेर पढ्दै गरे पनि श्रीमती डिकी अझै गाउँमै घर व्यवहार धानेर बसेकी छन् ।

सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका सानुले सन् २००६ मै चोयू चढ्ने मौका पाए । न तालिम न त पूर्व अनुभव उनले एकै पटक ८१८८ मिटरको हिमाल चढ्न परेको थियो । यद्यपि कुनै बाधा व्यवधान आरोहण गरे, आफूसँगको आरोहीलाई पनि सकुशल चढाए । त्यसपछि उनको आरोहण करियर अघि बढ्यो । अझै पनि उनी यही पेसामा छन् । ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको दोस्रो पटक आरोहण गरेर देशको नाम चम्काउने अभियानमा छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…