June 1, 2021

विदेशबाट आउनेलाई फेरी दश दिन क्वोरेन्टिन अनिवार्य

काठमाडौं । आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने यात्रु (नेपाली/विदेशी) लाई अनिवार्य खश‍ १० दिन होटेल क्वारेन्टिनको प्रावधान गरिएको छ । विभिन्न देशमा कोरोना संक्रमण बढिरहेको सन्दर्भमा उक्त व्यवस्था गरिएको हो ।

पर्यटन मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट र १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिने छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वारेन्टिनको खर्च भने यात्रु आफैले व्यहोर्नु पर्ने छ । १० दिन होटेल क्वारेन्टिनपछि भने कोरोनाको लक्षण देखिएका व्यक्तिले पीसीआर परीक्षण गर्नुपर्छ भने अरुलाई घर जान दिइने छ । पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ आएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटेलमै बस्नु पर्नेछ ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने छ ।

कोभिड नियन्त्रणमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वारेन्टिन बस्ने गरी जान दिइने छ ।

त्यसैगरी ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वारेन्टिन नतोकिने भएको छ । यी क्षेत्र घना बस्ती भएकाले कोरोना संक्रमण नियन्त्रण गर्न ती क्षेत्रका होटेललाई क्वारेन्टिन होटेलका रुपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको हो । होटेल क्वारेन्टिनको सूचीकरण भने पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले गर्ने छ ।

खाडी र मलेसियाबाट आउने नेपालीलाई पाँच दिन

यद्यपि खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीबाट फर्कने नेपाली श्रमिक भने ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन तथा कतारमा साताको एक/एक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै श्रमिक गन्तव्य मुलुबाट आउने यात्रुलाई लक्षित गरेर मापदण्ड खुकुलो बनाएको हो ।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …