माउन्टेन गाइड लाइसेन्स नहुँदा आरोहीलाई सास्ती
- जमुनावर्षा शर्मा
पोखरा । आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ ।
शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिए । साथमा १० जना आरोही पनि थिए । उनी आरोहण दलका नेता हुन् । १९ वर्षको उमेरमा पहिलोपल्ट सगरमाथा हिमाल चढेका शेर्पाले अहिलेसम्म आठ हजार मिटर अग्ला पाँच वटासहित दर्जन बढी हिमाल आरोहण गरिसकेका छन् । हिमालय पथप्रदर्शकको परिचय पत्र भने अझै पाउन सकेका छैनन् ।
“हामी दर्जन बढी हिमाल चढिसक्यौँ । हाम्रो पेशा नै हिमाल चढ्ने र अरुलाई चढाउने हो तर पनि माउण्टेन गाइडको परिचय पत्र दिन आनाकानी गरिएको छ । यसले बेलाबेला समस्या सिर्जना गर्दोरहेछ” उनले भने, “जीवनलाई जोखिममा राखेर रमाउने बानी परेर होला हिमाल आरोहण कठिनाइ सामान्य लाग्छन् तर बेला बेलामा आरोहीको प्रमाण माग्दा र देखाउन नसक्दा भने कहिलेकाहीँ खिन्न लाग्ने गर्दछ ।”
हिमालयन गाइड्स नेपालमा आबद्ध भएर माउण्टेनियरिङ्ग गाइड गर्दै आएका शेर्पाले हालसम्म १५ बढी विदेशी टोलीलाई सगरमाथा, केटुलगायतका हिमालको सफल आरोहण गराइसकेका छन्। उनी सुनाउँछन्, “विदेशमा आरोही हौँ भन्दा सम्मान पाउँछौ तर आफ्नै देशमा बेलाबेला निकै दुःख पाइन्छ । परिचयपत्र खोजिन्छ तर सरकारले दिँदैन ।” उनले हालै केटु हिमाल आरोहणमा जाँदा हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीबाट अवरोध भएको, केरकार बढी गरिएयो र रोकिएको अनुभव सुनाए । “हामीले आरोही हौँ, भनेर भन्दा पनि उहाँहरुले तपाई आरोही भन्ने प्रमाण के छ ? प्रमाण देखाउनुस् भन्नुभयो, करिब दुई घण्टा रोकेर तीन पेज लामो कागज बनाएर मात्र छोडियो” उनी भन्छन् ।
परिचयपत्र नहुँदा गुगलमा नाम सर्च गरेर फोटो समाचार देखाउनुपरेको अनुभवसमेत उनीसँग छ । “पाकिस्तानको इमिग्रेशनमा हामीलाई सामान्य जाँचपछि छाडियो तर आफ्नो देशमा घण्टौँ रोकियो” शेर्पा भन्छन्, “आठ हजार मिटर अग्ला हिमाल चढेका व्यावसायिक आरोहीहरुलाई हिमालय पथप्रदर्शकको प्रमाणपत्र सरकारले सहज व्यवस्था गरिदिए हुने थियो ।” उनले नेपाल हिमालको देश भनेर विश्वमा चिनिए पनि पर्वतारोहण पर्यटनलाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो गरे ।
अग्लो हिमाल सगरमाथा भए पनि आरोहणका हिसाबले दोस्रो अग्लो हिमाल केटु भने निकै जोखिम रहेको उनको अनुभव छ । “केटु आरोहण चार पटकको प्रयासमा दुई पटक सफल भयो । अरु हिमाल एक पटकमा आरोहण सफल भएको थियो” उनी भन्छन् । पाकिस्तानमा पर्ने आठ हजा ६११ मिटर अग्लो केटुमा हावा अत्याधिक चल्ने र ‘रफ फलिङ’ बढी हुने भएकाले निकै चुनौती मानिन्छ । उनले तुलनात्मक रुपमा केटुमा ज्यानलाई जोखिममै राखेर आरोहण गर्नुपरेको अनुभव समेत सुनाए ।
यसपालिको आरोहणमा अमेरिकनलगायतको नौ जनाको टोलीलाई उनले गाइड गरेका थिए । आङफुर्वा शेर्पाको टोलीमा सिद्धिबहादुर तामाङ, दोर्जे ग्याल्जेन शेर्पा, पासढावा शेर्पा, कामदोर्जी शेर्पा, मिङदोर्जे शेर्पा, दावा नुपु शेर्पा, लाक्पा ओङचु शेर्पा, मिङमार शेर्पा र कम्पनीका म्यानेजर भोला पौडेल सहभागी थिए । करिब दुई घण्टा चुचुरोमा बसेर फर्किएको उनको टोलीले बाटोमा तीन चार जनाको शवसमेत देखेको सुनाए । सन् २००९ देखि म्याडिसन हिमालयन गाइड्स नेपाल कम्पनीसँग आबद्ध रहेर व्यावसायिक आरोहणमा सक्रिय शेर्पाले नेपालको सुन्दरता हिमालमा लुकेको र यसको प्रचारप्रसारलाई विस्तार गर्न सके देशको अर्थतन्त्रमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनकै टोलीमा रहेका सोलुखुम्बुका दोर्जे ग्लाल्जेन शेर्पा पनि व्यावसायिक आरोही हुन् । उमेरले ३८ वर्ष पुगेका ग्याल्जेनसँग १९ पटकसम्म सगरमाथा आरोहण गरेको अनुभव छ । तर उनीसँग पनि माउण्टेन गाइडको लाइसेन्स छैन । केटु हिमाल पहिलोपल्ट आरोहण गर्न सफल उनले हिमाल आरोहण चुनौतीपूर्ण पेशा भएको बताउँछन् । “जीवनको भर हुँदैन, यो कठिन काम हो, तर पनि यहि चुनौतिसँग नै जीवन चलिरहेको छ ।” धेरै पल्ट सगरमाथा लगायताका अन्य हिमाल आरोहणको अनुभवले अहिले आत्मविश्वास बढ्दै गएको उनी सुनाउँछन् ।
उनको पनि एउटै माग छ सरकारले दर्जनौँ पटक एभरेष्ट चढेकालाई विना झण्झट हिमालय पथप्रदर्शकको लाइसेन्स देओस् । उक्त टोलीमा कान्छा मानिने २५ वर्षीय मिङ्गदोर्जे शेर्पाले २१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर व्यावसायिक आरोही यात्रा शुरु गरेको बताए । अहिले हिमालयन गाइड्स नेपालमा जोडिएर आरोहण पेशामा संलग्न उनी सरकारले छिटै नीति ल्याएर माउण्टेन गाइडको रुपमा समेट्न आग्रह गरे ।
हिमालयन गाइड्स नेपाल नामक संस्थाले अहिले विदेशीहरुलाई हिमाल आरोहण गराउँदै आएको छ । कम्पनीका म्यानेजर भोला पौडेलले कम्पनीमा पर्यटन विभागबाट २०० बढी हाइ अल्टिच्यूट पोर्टरको मान्यता पाएका आरोही रहेको बताउँछन् । सरकारबाट हिमालय पथप्रदर्शकको प्रमाणपत्र पाउन नसक्दा दर्जनौं पटक माउण्ट एभरेष्ट चढेका व्यावसायिक आरोहीलाई अन्याय भएको उनको भनाइ छ । “एउटा निश्चित मापदण्ड पूरा गरेर निरन्तर हिमाल आरोहण गरिरहेकालाई सहज रुपमा हिमालय पथप्रदर्शकको प्रमाणपत्र दिनुपर्छ भन्ने हाम्रो माग हो ।”
पौडेलले कोरोनापछि आरोहण गर्ने विदेशीको सङ्ख्या १० प्रतिशतमा झरेको सुनाउए । “अहिले पनि हिमाल आरोहणका लागि थुप्रै विदेशीहरुको ‘इन्क्वायरी’ आउने गरेको छ तर नेपाल आउने क्वारेन्टिन बस्नुपर्ने लगायतका झझण्टले पर्यटकलाई निराश बनाएको छ ।” उनले डबल डोज खोप लगाएका र पीसीआर नेगेटिभ आएका पर्यटकलाई आरोहणका लागि सहज बनाउनुपर्ने बताए ।
उनका अनुसार आठहजार मिटर अग्ला हिमालको लागि अप्रिल र मे महिना अरु हिमालका लागि सेप्टेम्बर, अक्टुबर नोभेम्बर महिना उपयुक्त मानिन्छ । एक जना विदेशीका लागि कम्तीमा ३५ हजार डलर देखि ९० हजार डलरसम्म हिमाल आरोहणको लागि खर्च लाग्ने गरेको छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले आरोहीको कार्य अनुभवलाई तीन तहमा विभाजन गरी संघले बल्यक बुक, ब्लु बुक र रेड बुक जारी गर्दै आएको जानकारी दिए । “बेसक्याम्पमा बसेर क्लाइम्बिङ सपोर्टरको काम गरेको तीन वर्ष पछि ब्लु बुक दिने त्यसको पनि तीन वर्ष पूरा भएपछि रातो बुक जारी गर्दछौँ ।” उनले समयानुसार यस बुकमा पनि परिस्कृत र परिमार्जीत बनाएर जानुपर्ने भएकाले अहिले त्यसको काम भइरहेको जानकारी दिए ।
उनका अनुसार हिमालय पथप्रदर्शकको लागि एनएमएबाट उच्च पर्वतारोहण तालिम लिइसकेका जसले पहिलो, दोस्रो र तेस्रो चरण पार गरेका छन् उनीहरु नेशनल माउण्टेन गाइड बन्ने प्रावधान छ भने अन्तर्राष्ट्रिय हिमालय पथप्रदर्शक सदस्यता लिन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासङ्घले (आइएफएमजिए) को एउटा निश्चित कोर्ष पूरापछि मान्यता पाउने प्रावधान रहेको छ । यसरी मान्यता प्राप्त माउण्टेन गाइडको अहिले संख्या जम्मा ७० जना मात्र छन् ।
गुरुङले नेपाल सरकारले एनएमबाट रातो किताब प्राप्त र उच्च पर्वतारोहण तालिम गरेकालाई दिने र त्यसमा ‘आस्पिरियन्ट लेभल’ नचाहिने निर्णय भएको बताए । उनले भने, “थुप्रै पटक हिमाल आरोहण गरेका रेड बुक पाएका र उच्च पर्वतारोहण तालिम लिएका आरोहीहरुलाई हिमालय पथप्रदर्शक प्र्रमाणपत्र दिन सरकार सहमत भए पनि पछि विवाद निस्किएकाले रोकियो ।” विसं २०७६ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले नेपालमा विख्यात विख्यात आरोही रहेका जनाउँदै उनीहरुको लागि नेपाल पर्वतारोहणको सङ्घको सिफारिसमा हिमालय पथप्रदर्शक प्रमाणपत्र दिने भनेर निणर्य गरेको थियो ।
पर्यटन विभागले एनएमएको रातो बुकलाई समेत आधार मानेर माउन्टेन गाइडको अनुमति पत्र दिन थालेकोमा त्यस विरुद्ध आइएफएमजिए गाइडहरुको तर्फबाट असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट परेकोले अदालतको आन्तरिम आदेशका कारण अहिले माउन्टेन गाइड अनुमति पत्र दिने कार्य रोकिएको छ । सरकारले दिन थाल्दा सबैभन्दा पहिला कीर्तिमानी आरोही कामी रिता शेर्पालाई नं. १ को गाइड लाइसेन्स दिएको थियो ।
एनएमएले ४४ दिनको आधारभूत माउण्टनियरिङ तालिम मनाङ र र एड्भान्स कोर्ष लाङटाङमा सञ्चालन गर्दै आउको छ । सङ्घका अनुसार आधारभूत तालिम लिएका ६७५ जना र एड्भान्स तालिम लिएका ७८५ जना रहेका छन् । विश्वमा १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल छन् त्यसमा आठ वटा नेपालमा पर्छन् ।रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …