October 20, 2021

बाढीपहिरोबाट ३१ को मृत्यु, ४३ बेपत्ता, घुम्न निस्केकालाई सास्ती

तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी रुपमा सञ्चालन गरिएपछि गन्तव्यतर्फ जाँदै गरेका मोटरसाइकल यात्री । तस्वीर: ध्रुवसागर शर्मा, रासस ।

काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । घुमफिरको मौसम भएकाले घुम्न निस्किएकाहरुले पनि बाढी पहिरोका कारण सास्त्री खेप्नु परेको छ ।

गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको हो । उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै भएको डुवान र बाढी जस्ता प्राकृतिक विपदको घटनामा जोखिमा परेका नागरिकको उद्वारमा गर्दै नेपाल प्रहरीको टोली । तस्वीर : सौजन्य : प्रदेश प्रहरी कार्यालय, रासस

नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

कास्की जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् ।

उनका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ । प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ । दसैंको घटस्थापना सुरु भएपछि पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका थिए । कोरोनाका कारण लामो समय सुनसान बनेको घान्द्रुकमा अहिले आन्तरिक पर्यटक भरिभराउ भएको पर्यटन व्यवसायी किसम गुरुङले बताए ।

घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेशस्थल हो । आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पुग्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ र मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारी साधन आगमन ठप्प भएको छ । सोमबारदेखि परेको अविरल वर्षाले यस सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए । सडक अवरुद्ध भएपछि दसैंको विदा पारेर मनाङ घुम्न पुगेकाहरु समेत रोकिएका छन् ।

खुम्बु क्षेत्रमा हिमपात

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् । अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।

पपर्यटकीय क्षेत्र खुम्बुको लुक्ला, नाम्चे खुम्जुङ, थामेसहितको क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महसुस भएको स्थानीयवासी लामाकाजी शेर्पाले बताएका छन् । उनका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायतका क्षेत्रमा बिहानैदेखि हिमपात भइरहेको छ ।

निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताए ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक अलपत्र

ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकहरु वर्षाका कारण अलपत्र परेका छन् । तीन दिनदेखि निरन्तर परेको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरु बाटोमै अलपत्र परेका हुन् ।

आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिएपनि त्यसयता वर्षा अविरल भइरहेको छ । अहिलेको अविरल तथा निरन्तरको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेर रोकिएका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै रोकिएका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोलामा रोकिएका छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा वर्षाका कारण विदेशीसहित २८ जना पर्यटक रोकिएका छन् । कञ्चनजङ्घा हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु वर्षाले गर्दा घुन्सामै रोकिएका शेर्पाले बताउनुभयो । उहाँका अनुसार उक्त टोली सोमबार घुन्सा पुगेका हुन् ।

फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ । निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।

मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित बनेको जुफाल विमानस्थलको कार्यालयले जनाएको छ । अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल भरिभराउ भएका छन् । स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइँ शे फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल पर्दै आएका छन् । दैनिक ४० भन्दा बढी पर्यटकलाई आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …