रात्रिकालीन व्यवसाय रातभर खोल्न पाउने, पर्यटन क्षेत्रका राहतको आशा
कोरोना संक्रमणको दर घट्दै जाँदा होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसायमा लाग्दै आएको प्रतिबन्धात्मक ब्यवस्थाहरु खुला गरिएको छ । अब यी सेवाहरु २४ सै घण्टा सञ्चालन पाउने भएका छन् ।
बुधबार गृह मन्त्रालयले एक सूचना जारी गरेर रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने जनाएको हो । यसअघि राती १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो ।
व्यवसायीले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गर्दै आएका थिए । गुनासो बारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।
कार्यदलको सिफारिस अनुसार गृह मन्त्रालयले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा चल्न दिने निर्णय भएको हो । यसका लागि केही मापदण्डहरु भने बनाइएका छन् । जसमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने तथा आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ । त्यसैगरी ग्राहकले घरसम्म पुग्ने व्यवस्थाको लागि अनुरोध गरेमा सशुल्क व्यवस्था गर्नु पर्ने, आन्तरिक सुरक्षाका लागि व्यवसायीले पोशाक र परिचय-पत्र साथमा सुरक्षागार्डलाई राख्नुपर्नेलगायत रहेका छन् ।
पर्यटन, होटल, रष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रमिकको प्रयोग गर्न नपाइने, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रुपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने, आफ्नो व्यवसायको निर्धारित मूल्य सूची विपरीत अनावश्यक रुपमा बिलिङ गरी ग्राहकलाई गैरकानुनी रुपमा दुःख दिन नपाइनेलगायतको व्यवस्था पनि मापदण्डमा रहेको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …