March 10, 2022

पर्वतारोहण सङ्घको साधारणसभा चैत ९ मा

काठमाडौँ । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो ।

महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो । यसअघि गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ । नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स् (नाट्टा) को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ ।

सङ्घका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारणसभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिए । संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उनको भनाइ छ । “बोर्ड बैठकले यही मार्चभित्रै निर्वाचन गर्ने भनेर छलफल गरियो तर विधानको केही धारा र दफामा समस्या रहेकाले विधान संशोधनका लागि साधरण सकेर जुनको पहिलो सातातिर निर्वाचन गर्नेगरी तयारीमा जुटेका छौ”, उनले भने ।

सङ्घको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

आसन्न वषन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेरफर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने सङ्घको योजना छ । संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन । सङ्घको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ । उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …