June 1, 2022

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।

एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो । मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

 

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …