July 13, 2022

त्रिशुलीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ हुने

Rafting in Bhotekoshi

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा त्रिशुली नदीमा २० औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ ।

जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न नाराले त्रिशुली नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो । मङ्सिर ११ देखि १३ सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिने नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जल खेलाडीको सीप र दक्षता वृद्धि, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने तथा साहसिक जल यात्रामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

”भौगोलिक दृष्टिकोणले ‘साहसिक पर्यटन’ हाम्रो तुलनात्मक लाभ हो । ’साहसिक खेल’ पर्यटनको लागि नेपाल विश्वको सबैभन्दा उत्तम गन्तव्यस्थल हो” नाराको अध्यक्ष अधिकारीले भने, ”यसको प्रवर्द्धन गर्ने, उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो ।” नेपालको पर्यटन उद्योगको प्रमुख स्रोत मध्ये साहसिक जल पर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि नाराले सन् २००२ देखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायतमा नेपाली रिभर गाइड क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल खेलाउने बताइएको छ । प्रतियोगितामा विश्वका विभिन्न मुलुकको सहभागिता रहनेछन् ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …