February 21, 2023

हाइक फर साल्मेडाँडा सम्पन्न

 

पहिलो र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका करिब ६० हजार गोर्खाहरुको सम्झनामा निर्माण गरिएको फेदीखोला गाउँपालिकाको साल्मेडाँडासम्म हाइकिङ गरिएको छ ।

हाइक फर साल्मेडाँडा नाम दिइएको यस पदयात्रा गाउँपालिकाकै अयरपानी होमस्टेबाट सुरु भएर साल्मेडाँडासम्म करिब ७ किलोमिटर गरिएको थियो ।

पोखरेली मञ्च, यूके र वी राइज फाउण्डेशन, नेपालले आयोजना गरेको पदयात्राका सहभागीहरु अघिल्लो दिन नै अयरपानी होमस्टे पुगेर बास बसेका थिए । दोस्रो दिन बिहान अयरपानीबाट सुरु भएको पदयात्रामा ८० भन्दा बढि सहभागी थिए । फेदीखोला समाज यूकेको ब्यवस्थापन र स‌ंयोजन गतवर्षबाट सुरु भएको यस पदयात्राले साल्मेडाँडाको गोर्खा स्मारक, वरपरका मठमन्दिर तथा गाउँघरलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय चिनाउने उदेश्य राखेको अध्यक्ष हरि गुरुङले बताए ।

अयरपानी सामुदायिक होमस्टेमा बास बसेर बिहान सुरु भएको पदयात्राका सहभागीहरु रामकोट सामुदायिक होमस्टेमा पुगेर बिहानको खाना खाइ साल्मेडाँडा पुगेर औपचारिक कार्यक्रम गरेका थिए । कार्यक्रमको अघिल्लो दिन सहभागीहरुले कालाभैरब मन्दिरको दर्शन गर्नसमेत गएका थिए । पदयात्रामा त्यस भेगका काठमाडौं, पोखरा, यूके हङकङ, अष्ट्रेलिया बस्ने स्थानीयका साथै केही विदेशीहरु पनि सहभागी थिए ।

कार्यक्रमको बिशेष अतिथिका रुपमा यूकेको वेल्सको ब्रेकन सहरका मेयर डेभिड मेरिडेट सहभागी भएका थिए । उनले ६० हजार गोर्खाहरुको समाधिस्थल बनाएकोमा खुशी व्यक्त गर्दै भविश्यमा सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा फेदीखोला गाउँ पालिकाका अध्यक्ष घनश्याम सुवेदीले आफ्नो गाउँ ठाउँमा आएर हाइकिङ गरेकोमा देश/विदेशबाट आएका स्थानीय तथा पाहुनाहरुलाई स्वागत गर्दै सहकार्यका लागि तयार रहेको बताएका थिए ।

कार्यक्रममा नमस्ते ब्याण्डका सम्पूर्ण सदस्यसहित प्रमुख इश्वर गुरुङसहित सहभागी भएका थिए ।

पदयात्रीहरुलाई देउराली आमा समुह, अयरपानी आमा समुह, मट्टीखान आमा समुह, रामकोट आमा समुहलगायत हिमशिखर र जेन्टलमेन क्लवले पनि ठाउँठाउँमा स्वागत गरेका थिए । साल्मेडाँडा नजिकै रहेको अमोर सेवा नेपाल बालगृहका बालबालिकाहरुले योगा, नृत्य प्रदर्शन गरेका थिए ।

पाहुनाहरुलाई गाउँमा स्वागत गर्न पाउँदा आफुहरु खुशी भएको अयरपानी सामुदायिक होमस्टेका अध्यक्ष सपना गुरुङले बताइन् । अयरपानी र रामकोट होमस्टेमा पाहुनाहरुले स्थानीय परिकारको स्वाद लिन पाएका थिए । फेदीखोला गाउँपालिकामा पाँच वटा होमस्टे छन् भने अयरपानी र रामकोट यस पदमार्गमा पर्दछ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …