March 19, 2023

तेस्रो लिगलिगे साइकल दौड सम्पन्न, आर्मीका टमाटालाई उपाधी

तेस्रो लिगलिगे साइकल दौड सम्पन्न भएको छ । लिगिलग भिलेज स्पोर्टसले आयोजनामा गरेको दौडमा त्रिभुवन आर्मी क्लवका हिमाल टमाटा उपाधी चुमेका छन् । उनले ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै ७५ हजार रुपैयाँको पुरस्कार राशी प्राप्त गरेका हुन् ।

टमाटाले तेस्रो प्रयासमा उपाधी जितेका हुन् । सुरुदेखि नै सहभागी हुँदै आएका उनले पहिलो दोस्रो र दोस्रो दौडमा चौँथो स्थान हासिल गरेका थिए । दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो भए भने दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै काठमाण्डौँका कुमार तामाङ तेस्रो भए । लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गर्दै चौँथो र दुई घण्टा २५ मिनेट ३९ सेकेण्डमा दौड पुरा गरेका मानबहादुर थापा मगर पाँचौँ भए ।

दोस्रो हुनेले नगद ५० हजार, तेस्रो हुनेले नगद ३० हजार, चौथो हुनेले नगद १५ हजार र पाँचौ हुनेले ७ हजार पाँच सय रुपैयाका साथै मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यसैगरी सिनियर पुरुषतर्फ दुई घण्टा ३२ मिनेट चार सेकेन्डमा ५३ किलोमिटर दुरी पार गर्दै हर्क लामा बिजेता बने । दुई घण्टा ४९ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै बिकास महर्जन दोस्रो र देबबहादुर बोहोराले दुई घण्टा ५२ मिनेट २१ सकेन्डमा पुरा गरी तेस्रो बने । यस समुहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार रहेको थियो ।

प्रतियोगितामा दुई बिदेशी ३९ जना सहभागी भएको बताइएको छ । लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडाँडा हुदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर रहेको थियो ।

लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर दौड कार्यक्रम पुरा भएको थियो । लिगलिग भिलेज स्पोर्टसका आयोजना पालुङटार नगरपालिका, गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने प्रवर्द्धकमा रुपमा पर्यटन बोर्ड रहेको छ । प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषदले गरेको थियो ।

सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा लोक गायक चिज गुरुङ र अस्मिता डल्लाकोटी लगायत स्थानीय कलाकारको प्रस्तुती रहेको थियो ।

ऐतिहासिक लिगलिग कोटको पर्यटकीय प्रचारको लागि बर्सेनी यो प्रतियोगिता आयोजना गरिंदै आएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …