April 18, 2023

पञ्चासेमा केवल कार बनाउने तयारी

काठमाडौं । कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्ने पञ्चासे धार्मिक क्षेत्रमा पोखराबाट केवलकार निर्माण गर्ने भएको छ ।

बन्दीपुर केवलकार बनाउँदै गरेको आरकेडी होल्डिङ प्रालिको अगुवाइमा निर्माण गर्न लागिएको केवलकार २.८ किमी लम्बाइको हुने छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा आरकेडी होल्डिङका प्रबन्ध सञ्चालक चिन्तामणी शर्माले दिएको जानकारी अनुसार पञ्चासेको भञ्ज्याङसम्म केवलकार पुर्‍याउनुका साथै उक्त स्थानमा सुविधायुक्त पाँच तारे होटल बनाउने योजना रहेको छ । जीप लाइनलगायतका साहसिक खेलहरुका साथै बच्चाहरु खेल्नका लागि किड्स गार्डेन बनाउने पनि योजना रहेको छ । भञ्ज्याङबाट करिब १५ मिनेट हिंडेर पञ्चासेको धार्मिकस्थल पुग्न सकिन्छ ।

हाल आरकेडी होल्डिङसमा ८ हजार सदस्य रहेको र दश लाखसम्म सदस्य बनाउने योजनामा आफुहरु लागेको शर्माले बताए । कम्पनीका सञ्चालक बिना गुरुङले केवलकार परियोजनामा करिब ६ अर्ब रुपैयाँको लगानी रहने बताइन् ।

२५ सय मिटरको उचाइमा रहेको पञ्चासे क्षेत्र मुलुकमै सबैभन्दा राम्रोसँग सुनगाभा फुल्ने स्थान हो । यहाँबाट अन्नपूर्ण र माछापुछ्रे हिमश्रृंखला राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

कम्पनीका सञ्चालकहरुले पोखरामा आएका पर्यटक पञ्चासे पुगेर एक रात भए पनि बसाई थप लम्बियोस् भन्ने चाहनाले परियोजना सुरु गर्न लागेको बताए ।

यो क्षेत्र पञ्चासे सर्किटका रुपमा विदेशी पर्यटकहरुले रुचाएको क्षेत्र पनि हो ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …