सगरमाथाको चुचुरो चुम्ने यस वर्षको पहिलो अन्तर्राष्ट्रिय आरोही पाकिस्तानी नैला
अन्तर्राष्ट्रिय आरोहीको रुपमा पाकिस्तानकी नैला कैनी यस वर्षको पहिलो सगरमाथा आरोही बनेकी छन् । आइतबार बिहान ८:०२ बजे एक जना नेपाली र उनले सगरमाथाको चुचुरो चुमेका हुन् ।
यसअघि डोरी टाँग्ने आइसफल डाक्टरहरुको टोली शनिबार शिखरमा पुगेको थियो ।
नैलासँगै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका हुन् । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताए ।
उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । उनले आइतबार साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताए ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।
यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …