October 7, 2020

१२ वर्षपछि यतीको सिमरा उडान शुरु

Yati airlines
फाइल तस्विर : यति एयररलाइन्सको जहाज ।

काठमाडौैं । निजी क्षेत्रको हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले मंगलबारदेखि राजधानी काठमाडौँ–सिमरा उडान शुरु गरेको छ ।

कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । सिमरा यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर मंगलबारदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार मंगलबार नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९:१० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४:४५ बजे हुनेछ । “अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ”, प्रवक्ता बर्तौलाले भने ।

मंगलबार पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।

केही दिनअघि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…