March 5, 2021

हिमाली जनजीवन बारे चित्रकला प्रदर्शनी

काठमाडौँ । हिमाली जनजीवनलाई सजीव रूपमा उतारिएको नरबहादुर बिकेको चित्रकला प्रदर्शनी राजधानीमा भइरहेका छ ।
नेपाल आर्ट काउन्सिल, बबरमहलमा जारी प्रदर्शनी जनवरी ३० देखि १७ मार्चसम्म जारी रहने छ । यो बिकेको १७ औँ चित्रकला प्रदर्शनी हो । यसमा हिमाली जनजीवनलाई समेटेर पाँच सय भन्दा धेरै चित्रहरू छन् । प्रदर्शनी आर्ट क्लब, नेपालले आयोजना गरेको हो ।
बिकेका अनुसार सगरमाथा, अन्नपूर्ण, लाङटाङ क्षेत्रका साथै काठमाडौँ, पोखरा र घान्द्रुकलगायतका क्षेत्रको चित्रहरू समेटिएका छन् । उनी भन्छन्, ‘यी चित्रहरू ‘एक्रेलिक कलर अन क्यान्भास’ विधिमा यी चित्रहरू बनाइएका हुन् ।’
प्रदर्शनीको अवलोकनको लागि दैनिक २० देखि २५ जनासम्म आउने गरेकोमा शनिवारको दिन थप मानिसहरू अवलोकनका लागि आउने गरेका छन् ।
बिकेले चित्रहरूको मूल्य न्यूनतम पाँच हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म राखिएको बताए । ‘यी चित्रहरू फोटोको नक्कल गरिएका होइन, मैले आफू पुगेका स्थानहरूको प्रत्यक्ष अवलोकनबाट चित्र कोरेको हो’ बिकेले भने ।
बिकेले पछिल्लो २२ वर्षदेखि चित्रकला बनाउँदै आएका छन् । उनको यो प्रदर्शनी कोरोना सङ्क्रमण पछि कै पहिलो चित्रकला प्रदर्शनी हो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…