April 8, 2021

रमणीय पर्यटकीय गाउँ घलेखर्क

घलेखर्क
कास्कीको माछापुच्छ्रे गाउँपालिका –२ स्थित घलेखर्क पर्यटनको सम्भावना बोकेको रमणीय गाउँ हो । स्थानीयले पनि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रयास गरिरहेको छ ।
करिब दश पुस्ता अघि बारपाकबाट केही घलेहरू कास्कीको साबिक सार्दिखोला गाविसमा बसाइँ सरेका थिए । स्थानीय हिराबहादुर घलेका अनुसार उनीहरूले सुरुमा यस ठाउँमा भेडी पालन गरे पछि बालीनाली हुने उपयुक्त र सुरक्षित स्थान देखेपछि उनीहरू आफू बस्दै आएको स्थान छाडेर यही बस्न थाले । त्यही समयदेखि यो गाउँलाई घलेखर्क भन्न थालियो ।
घलेखर्क पोखरा दीपचोकदेखि पूर्वी–उत्तर १८ कि.मि.को दुरीमा पर्दछ । दीप चोक, लामाचौर, भुर्जुङखोलाहुँदै केही कच्ची र केही पक्की सडक भएर मोटरमा एक घण्टामा घलेखर्क पुग्न सकिन्छ । घलेखर्कमा नीरमसी, जटामसी, पाँचऔंले जस्ता महत्वपूर्ण जडीबुटीहरू प्रशस्त पाइन्छन् ।
यहाँको जङ्गलमा लाली गुराँस फुल्दा त्यहाँ पुग्ने सबैको मन लोभ्याउँछ । घलेखर्कबाट माछापुच्छ्रे हिमालको शृङ्खला देख्न सकिन्छ । १७०० मिटरको उचाइमा रहेको घलेखर्क भेंडा पालनको लागि अझै पनि अति उपयुक्त मानिन्छ । घलेखर्कमा अहिले करिब दुई दर्जन घरधुरी छन् । शिक्षा र रोजगारीका लागि बसाइँ सराइको क्रम भने बढ्दो छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने घलेखर्क अन्नपूर्ण पदमार्गको पुरानो क्याम्पिङ साइट पनि हो, यहाँबाट तारा हील हुँदै सिक्लेस पुग्न सकिन्छ । घले खर्कका बासिन्दाले घलेखर्कलाई पर्यटन मैत्री बनाउनका लागि निजी रूपमा दुई वटा होमस्टे पनि सञ्चालनमा ल्याएका छन् ।
पर्यटकलाई आकर्षित गर्न प्रवेश द्वारको निर्माण गरिएको छ । स्थानीय समाजसेवी रमेश घले (कैलाश) ले आफ्ना स्वर्गीय आमा ओमकुमारी घले र बाबा अनरेरी क्याप्टेन टेकबहादुर घलेको सम्झनामा करिब पाँच लाख रुपैयाँको लागतमा प्रवेश द्वारको निर्माण गरिदिएका हुन् ।
घलेखर्कलाई प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्य बनाउनका लागि स्थानीय बासिन्दाले पहल गरिरहेको स्थानीय पर्यटन व्यवसायी सिरी प्रसाद घले बताउँछन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…