May 24, 2021

हङकङकी साङ बनिन् सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छिटो आरोहण गर्ने महिला

काठमाडौँ । हङकङकी यिन हङ साङले सर्वोच्च शिखर सगरमाथाको सबै भन्दा छोटो समयमा सफल आरोहण गर्ने महिलाको कीर्तिमान कायम गरेकी छन् ।  उनले २५ घण्टा ५० मिनेटमा ८८४८.८६ मिटर अग्लो शिखर चुमेकी थिइन् ।

उनको आरोहण व्यवस्थापन गरेकान ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का सञ्चालक फुर्वा तेन्जिङ शेर्पाका अनुसार साङले शनिवार दिउँसोको १ बजेर २० मिनेट जाँदा आधार शिविरबाट आरोहण थालनी गरेर आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेकी थिइन् ।

यस सफलतासँगै उनले नेपालका फुन्जो जाङबु लामाको रेकर्ड तोडेकी छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार लामाले यसअघि सन् २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड बनाएकी थिइन् ।

अल्ट्रा धावक साङ हङकङकै पहिलो सगरमाथा आरोही समेत हुन् र यो उनको तेस्रो सफल सगरमाथा आरोहण हो । तत्कालिन समयमा कलेज शिक्षिका रहेकी साङले आफ्ना विद्यार्थीहरूले प्रस्ताव गरेको चुनौती स्वीकार गर्दै  सन् २०१२ मा पहिलो सगरमाथा आरोहण तयारी थालेकी थिइन् भने सन् २०१४ मा आरोहणका लागि आएकी भए पनि त्यस वर्ष खुम्बु आइस फलमा पहिरो जाँदा सफल हुन सकेन । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पका बेला सगरमाथा आधार शिविरमै रहेकी उनी हिउँ पहिरोमा परी घाइते समेत भएकी थिइन् । यसको बावजुद उनले सन् २०१७ को मे २१ मा सगरमाथा पहिलो सफल आरोहण गरिन् । लगत्तै उनले सन् २०१९ मा पहिलो चिनियाँ महिला टोलीको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेकी थिइन् भने सोही वर्ष दोलखा जिल्लामा अवस्थित ६६५९ मिटरको लिङ्कु चुली–२ हिमाल  पहिलो पटक आरोहण गर्ने समूहको पनि नेतृत्व गरेकी थिइन् ।

“मेरा लागि हार्नु वा असफल हुनु सामान्य प्रक्रिया हो, असफलताले सफलताले भन्दा पनि धेरै पाठ सिकाउँछ तर म प्रयासै नगरी असफलतालाई स्वीकार्नु वा हार मान्नुलाई चाहिँ स्वीकार्न सक्दिन” साङसँगको फोन वार्ता उद्धृत गर्दै सगरमाथा आरोही तथा आरोहण ब्यवस्थापक रोजिता बुद्धचार्यले भनिन्, “प्रकृतिभन्दा शक्तिशाली कोही पनि हुँदैन । मैले कसैसँग प्रतिस्पर्धा गर्न आरोहण गरेकी होइन, मलाई मेरो आफ्नो क्षमता परीक्षण गर्नु थियो, साथै मेरा शेर्पा दाजुभाइलाई भेट्न उनीहरूसँगै आरोहण गर्न औधी मन पर्छ, काम गर्दै जाँदा सफल भइयो ।”

यस आरोहणको नेतृत्व गरेक फुर्वा स्वयम् आफै पनि आरोहण सम्बन्धी विभिन्न विश्व रेकर्डहरू बनाएका व्यक्ति हुन् । सगरमाथाको १४ पटक सफल आरोहण गरेका शेर्पाका परिवारले यस पटक  “सगरमाथा आरोहण गरेका एकै परिवारका धेरै सदस्य” को विश्व कीर्तिमान कायम गरेका छन् । मिस टिन शेर्पा २०१९, द पब्लिक च्वाइस विजेता उनका कान्छी बहिनी निमा ल्हामु शेर्पाले गत मे १२ मा सगरमाथा आरोहण गरेपछि एकै परिवारका ८ सदस्यको नाममा उक्त रेकर्ड पुनः दोहोरिएको हो । यसअघि फुर्वा तेन्जिङ  शेर्पाका दाजुहरू पेम्बा दोर्जेले २१ पटक, पेम्बा ग्याल्जेनले ४ पटक, फुर्वा थुण्डुले ४ पटक, निमा ग्याल्जेनले ९ पटक, दिदी दावा दिकीले १ पटक तथा भाइ फुर्वा थिले शेर्पाले ५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …