May 28, 2021

सगरमाथा आधार शिविरमा भारी हिमपात, आरोहण अन्योलमा

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेका सयौँ आरोही प्रतिकुल मौसमका कारण अन्योलमा परेका छन् । सगरमाथा आधार शिविरमा पनि विगत २४ घण्टादेखि भारी हिमपात भइरहेको छ ।
कतिपय आरोहीहरू मौसम खुल्ने अपेक्षामा अझै आधार शिविरदेखि दोस्रो क्याम्पसम्म रहेका छन् भने कतिपयले प्रतिकुल मौसमका कारण आरोहण रद्द गरे पनि हेलिकप्टर आउन नसक्दा आधार शिविरमै बस्न बाध्य छन् । अहिले सगरमाथाको आधार शिविरदेखि दोस्रो क्याम्पसम्ममा कति आरोही, शेर्पा तथा सहयोगी छन् भन्ने कुरा यकिन भएको छैन । कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो आरोहण दल दोस्रो क्याम्प रहेको तथा मे ३० सगरमाथा र ३१ मा ल्होत्से आरोहणको योजनामा रहेको उल्लेख गरेका छन् ।
सगरमाथा पोलुसन कन्ट्रोल कमिटीका बेसक्याम्प म्यानेजर छरिङ   तेन्जिंग शेर्पाले शुक्रवार सगरमाथा आधार शिविरमा भइरहेको भारी हिमपातको भिडियो आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् । दुई दिनअघि कमिटीले मौसम प्रतिकुल भएका कारण आरोहीहरू सुरक्षित रहन अपिल जारी गरेको थियो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका वावजुद् पनि यस वर्ष इतिहासमै सबैभन्दा धेरै आरोही सगरमाथा आरोहणका लागि आएका थिए । यस वर्ष कुल ४३ आरोहण दलका ३१५ पुरुष, ९२ महिला र एक अन्य गरी ४०८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए भने त्यसबाट ६६ करोड भन्दा धेरै रकम रोयल्टीबापत उठेको थियो ।
तर प्रतिकुल मौसमका कारण यस वर्ष धेरै आरोहीले आरोहण गर्न भने पाएका छैनन् । सुरुमा कोरोना सङ्क्रमणका कारण अप्ठ्यारो भए पनि कतिपय आरोहीले कोरोनामुक्त भएपछि पनि आरोहण गरेका छन् । तर पछिल्लो समय मौसम प्रतिकुल हुँदा आरोहण हुन नसकेको हो । हालसम्म करिब २५० पर्वतारोही र सय  शेर्पा सहयोगीले सगरमाथा चढिसकेको बताइएको छ ।
कतिपय आरोहण सञ्चालन गर्ने कम्पनीहरू आफैले आरोहण अन्त्य गरिसकेका छन् भने कतिपय आरोहण दल आफैले आरोहण रोकेका हुन् । ”हामीले मौसम प्रतिकुल हुने देखेपछि दुई दिन अघि नै यस वर्षको आरोहण अन्त्य गर्‍यौँ” दोस्रो धेरै आरोही आरोहणको लागि लगेको ट्याग नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक गोविन्द गुरुङले भने ।
उनका अनुसार ट्याग नेपालबाट आरोहणका लागि गएका कुल ३८ जना आरोही मध्ये ११ जनाले सफल आरोहण गरेका छन् । त्यस मध्ये तीन जनाले कोरोना लागेर पनि उपचार पछि सङ्क्रमण मुक्त भएर सगरमाथाको आरोहण गरेका हुन् । प्रतिकुल मौसम भएपछि केहीले आफै आरोहण त्यागेका हुन् भने अव कम्पनीले नै आरोहण अन्त्य गरेको हो । ट्याग नेपालका १५ जना आरोही अझै सगरमाथा आधार शिविरमै छन् । प्रतिकुल मौसमका कारण हेलिकप्टर पुग्न नसकेपछि उनीहरू हेलिकप्टर पर्खेर बसेका हुन् ।
सबैभन्दा धेरै आरोही लिएर गएको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनले भने अझै आरोहण अन्त्य गरेको छैन । सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार अझै पनि उनको कम्पनीबाट गएका ६० जना आरोही सगरमाथा आधार शिविरमै छन् । ”हामीले आरोहण त्याग्ने वा पर्खेर फेरी गर्ने भन्ने कुरा आरोहण दललाई नै छाडेका छौँ” मिङ्माले भने, ”यो हाम्रो कुरा भन्दा पनि पैसा तिरेर आउने आरोहीको कुरा हो । कस्तो अवस्थामा चढ्ने र कस्तो अवस्थामा नचढ्ने उनीलाई थाहा हुन्छ ।”
नेपाल स्वतन्त्र पर्यटन मजदुर गिल्डले भने अझै पाँच सय जना जति पर्वतारोही तथा श्रमिकहरू दोस्रो  क्याम्पसम्ममा रोकिनु परेको अवस्था रहेको उल्लेख गर्दै उनीहरूको जीवन सुरक्षाको निम्ति पहल गर्न सरकारसँग अपिल गरेको छ । भारी मात्रमा हिउँ परिरहेको र तत्काल पहलकदमी नलिएमा दुर्घटना हुन सक्ने उसले भनेको छ । यसैबीच पर्यटन विभागले भने शुक्रवार साँझ एक विज्ञप्ति प्रकाशित गरी आरोही, पथ प्रदर्शक तथा श्रमिकहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …