August 13, 2021

फेरिएको भेमाथाङ

  • सोनाम लामा
भेमाथाङमा पुजा गर्दै लामा गुरु । उनले थप बाढी पहिरो नजाओस् भनेर क्षमापूजा गरेका हुन् ।

हामीले कहिल्यै पनि सोचेका थिएनौँ, मेलम्चीमा आएको बाढीले यति धेरै क्षति पुराउला भनेर । अहिले जुन ठाउँबाट बाढी आएको छ, त्यो ठाउँमा पटक पटक पुगेको छु । यो बाढी पहिरो पछि पनि खानी विभागका भूगर्वविद्हरुसँगै फेरी एक पटक पथप्रदर्शकको रूपमा त्यहाँ पुग्ने अवसर जुर्‍यो ।

सोनाम लामा ।

अहिले मेलम्चीमा आएको बाढीको प्रमुख स्रोतको रूपमा रहेको भेमाथाङमा हामी पछिल्लो पटक गत चैतमा पुगेका थियौँ । त्यो ३६ सय मिटरको उचाइमा रहेको बलौटे घाँसे मैदान थियो । खासमा हेलम्बु क्षेत्रमा सडक पुगेपछि पदमार्गहरू मासियो । हेलम्बुमा पर्यटक आउन छाडे, त्यही सन्दर्भमा छलफलहरू हुँदै गर्दा कोरोनाको कहर सुरु भयो । एक जना पथप्रदर्शकको रूपमा हाम्रो काम पनि ठप्प भयो । अनि हेलम्बु गाउँपालिकासँग मिलेर हामीले ‘अपर हेलम्बु सर्किट’ नयाँ पदमार्गको रूपमा खोजी तथा प्रवर्द्धन गर्दै थियौँ । यही कामका लागि गत चैतमा भेमाथाङ पुगेको थिएँ ।

त्यसपछिको दुई महिना बित्दा नबित्दै त्यही स्थानबाट ठुलो बाढी आएर हाम्रो गाउँ बस्ती नै ध्वस्त बनायो । भेमाथाङ यसरी बग्ने छ भन्ने मलाई लागेको पनि थिएन । त्यसैले फेरी एक पटक पुगेर के भएको रहेछ, कहाँबाट पहिरो र बाढी सुरु भएको रहेछ हेर्ने मन थियो ।

पुरिएको भेमाथाङ ।

त्यही बेला खानी विभागबाट त्यहाँ अध्ययनका लागि जान लागेका भूगर्वविद्हरुलाई गाइड गरिदिनको लागि भनियो । मैले त्यसलाई सहर्ष स्वीकार गरेँ । अघिल्लो साता त्यही टोलीमा मिसिएर फेरी एक पटक भेमाथाङ र त्यो भन्दामाथिको क्षेत्र भ्रमण गर्ने अवसर मिल्यो ।
बाढी पहिरोको कारणहरूका बारेमा अध्ययनमा जानु भएका भूगर्वविद्हरुले आधिकारिक रूपमा भन्नु हुन्छ होला, यहाँ मैले मैले देखेको र मलाई लागेको कुराहरु सरसरती बताउन गइरहेको छु ।
स्वरूप फेरिएको भेमाथाङ

भेमाथाङ झन्डै एक किलो मिटर लामो बलौटे घाँसे चौर हो । हामी ह्योल्मोहरुको यो स्थानसँग विशेष लगाव छ । घह्रौं घ्याल्मो र छु याला ग्याल्जेन खोला मिसिएर चौरको बीच भाग हुँदै बग्थ्यो । त्यो खोला करिब ४० डिग्रीमा भेमाथाङबाट तल खस्थ्यो । त्यही तल आएपछि मेलम्ची भनिन्छ ।
चौरको एक छेउमा दुई वटा लामाहरू तपस्या गर्ने गुफाहरू छन् । त्यही गुफाको नजिकमा एउटा स्तुपा निर्माण गरिएको छ । त्यहाँ जानेहरूले त्यहाँ पुजाआजसमेत गर्छन् । यस ठाउँलाई पवित्र धार्मिक स्थलको रूपमा लिइन्छ र यहाँ लामाहरू गुफा बस्न जाने गर्छन् । एक जना काठमाडौँको शाक्य बुद्धिस्ट लामाले १३ वर्ष तपस्या गरेको बताइन्छ । यस ठाउँको पहिचान भने छोटेन रिम्पोछेले गराउनु भएको हो ।
त्यो भेमाथाङ चौर यति बेला पुरानो स्वरूपमा छैन । यहाँ झन्डै आठ मिटर जति बाक्लो लेदो जमेको छ । छेउमा रहेको १८ फिट अग्लो स्तुपा तीन फिट जति मात्र देखिएको छ । बीच भागमा बग्ने खोला अहिले छेउतिर सरेको छ । खासमा घह्रौं घ्याल्मो खोलामा ठुलो बाढी आएको हुँदा त्यसले अर्को कुनोतिर पानीको बहाव धकेलेको देख्न सकिन्छ । अनि गुफाहरू पनि माथिबाटै चर्किएका छन्, जुन सुकै बेला गुफाहरू पुरिन सक्छ ।

भेमाथाङ अहिले ।
भेमाथाङ पहिले ।

बाढी चाही सुरुमा भेमाथाङबाट सुरु भएको जस्तो देखिन्न । बाढी त्यो भन्दा माथि ग्लसियर फुटेर आएको देखिन्छ । विशेष गरेर घह्रौं घ्याल्मो खोलातिरबाट आएको स्पष्ट हुन्छ । छु याला ग्याल्जेन खोलातिरबाट भने अलि सानो मात्र बाढी आएको देखिन्छ ।
भेमाथाङबाट करिब ७/८ किलोमिटर माथि ग्लसियरबाट सुरु भएको बाढीले बगाएर ल्याएको लेदो भेमाथाङको चौरमा थुप्रिएको देखिन्छ । त्यो दबाब थेग्न नसकेपछि भेमाथाङ चौर आफै पनि बग्न थाल्यो । झन्डै एक सस मिटर जति बगेको देखिन्छ । मेरो बिचारमा भेमाथाङ चौरले त्यो लेदोलाई थेग्रिन नदिएको भए सायद तलतिर अहिले भएको भन्दा पनि ठुलो क्षति हुन्थ्यो हेला ।

मनसुन सकिएको छैन । विगतमा धेरै बाढी पहिरो भदौमा जाने गर्दथ्यो । त्यो हिसावले हेर्ने हो भने अझै मेलम्ची वरिपरिका बस्तीहरू सुरक्षित छैनन् । जुन सकै बेला ठुलो पानी प¥यो भने भेमाथाङमा थुप्रिएर बसेको लेदो बग्न सक्छ । त्यस बेला अझ ठुलो बाढी आउन सक्छ । अहिले पनि अलि अलि भेमाथाङ र त्यो भन्दा माथि पहिरोहरू झरिरहेकै छन् । त्यस क्षेत्रको भूमि थिलथिलो भएको देखिन्छ ।

यसरी डुब्यो भेमाथाङको स्तुपा ।

दूध पोखरी सग्लै

धेरैले यस क्षेत्रको सबैभन्दा माथि ४२७० मिटरको उचाइमा रहेको दूध पोखरी फुटेर बाढी आएको हो की भन्ने गरेका थिए । दूध पोखरी सग्लै रहेछ । हिमालको दुवैतिरबाट पहिरो खस्दै गरेको भएर हामी धेरै माथि ग्लसियरहरुमा जान त सकेनौँ तर भेडा खर्क भन्ने ठाउँसम्म पुगेर अवलोकन गर्‍यौं । भेमाथाङ भन्दा माथि दुवै खोलातिर भेमाथाङ जस्तै भ्याली छ । त्यसैले पनि जुन सुकै बेला फेरी बाढी र पहिरोको प्रकोप हुने छैन भनेर ढुक्क हुन सकिने अवस्था छैन । त्यसैले सजग रहनु पर्ने देखिन्छ ।
हामीसँगै एक जना लामा गुरु पनि जानु भएको थियो । उहाँले भेमाथाङमा यो अनिष्टबाट मुक्तिको लागि पूजा पनि गर्नु भयो । कामना गर्न सकिन्छ अव यस्तो विपत्ति त्यस क्षेत्रबाट नआओस् ।

घह्रौं घ्याल्मो खोला तर्फका पहिरो ।

सग्लै पदमार्गहरू

भेमाथाङ पुरिएको र केही भाग बगेको भए पनि हामीले खोजी गरेको ‘अपर हेलम्बु सर्किट’ को पदमार्ग भने सुरक्षित नै रहेको छ । बर्खा याम सकिएपछि त्यस क्षेत्रको भूगोलको अध्ययन अवलोकन तथा प्राकृतिक सौन्दर्यको अवलोकनको लागि जान सकिने देखिन्छ ।
काकाकुल काठमाडौंबासीको पानी सपनासँग जोडिएको मेलम्ची खानेपानीको भविष्य नै अनिश्चित बनाएको बाढीको उद्गमस्थलको अवलोकन गर्न चाहनेहरूले आफ्नो उद्देश्य त पुरा गर्ने छन् नै साथै छोटो अवधिमा नै हिमाली क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्यसँग पनि साक्षात्कार हुने अवसर मिल्ने छ ।

अध्ययन टोली लिएर भेमाथाङ पुगेको सैनिक हेलिकप्टर ।
अध्ययन टोलीका सदस्यहरु ।
अध्ययन टोली लिएर गएको सैनिक हेलिकप्टर मेलम्ची घ्याङमा ।
पुरिएको भेमाथाङ ।

– हेलम्बुको सेर्माथाङका स्थायी बासिन्दा लामा पर्वतीय पथप्रदर्शक हुन् ।

तस्बिरहरु: सोनाम लामा (अहिले) र सञ्जीव गुरुङ (पहिले)

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …