एनएमएको बागमती प्रदेश कमिटी गठन, सानुले धौलागिरिमा एनएमएको झण्डा फहराउने
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को बागमती प्रदेश कार्यसमिति गठन गरेको छ । एनएमएको प्रदेश शाखा समन्वय समितिले आइतबार नागपोखरी नक्साल काठमाडौंस्थित एनएमए सचिवालयको सभा हलमा आयोजना गरेको एक कार्यक्रममा नवगठिन समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्यो ।
हालै बागमती प्रदेशभित्र रही पर्वतीय पर्यटनमा सक्रिय रहेका पर्यटन व्यवसायी तथा आरोहीहरुको भेलाले दलबहादुर गुरुङको अध्यक्षतामा एनएमएको बागमती प्रदेश समिति गठन गरेको थियो । दलबहादुर पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहदै आएका छन् ।
बागमती प्रदेश समितिमा मिलन कुमार तामाङ उपाध्यक्ष, फुडोमा शेर्पा सचिव र ठाकुर धरेल कोषाध्यक्ष छन् । यस्तै, दावा सिङ्गी ह्योल्मो, अमर गुरुङ, सुप्पा तामाङ, कुलदाश तामाङ, सुनिता गहतराज, लोप्साङ शेर्पा, ध्रुव श्रेष्ठ, आकाश गुरुङ, कामी शेर्पा, उर्जा तामाङ र ज्ञानबहादुर तामाङ समितिका सदस्य छन् ।
प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका अध्यक्ष सन्तवीर लामाले प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै, संघका महासचिव कुलबहादुर गुरुङ, सचिव एवं प्रदेश शाखा समन्वय समितिका संयोजक टिकाराम गुरुङ, केन्द्रीय सदस्यहरु वाङ्चु शेर्पा, तुल सिंह गुरुङ, सञ्जिव गुरुङ, सिङ्गी लामा लगायतले खादा लगाएर नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको स्वागत गरेका थिए । त्यस लगत्तै संघ अध्यक्ष लामाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
अध्यक्ष लामाले प्रदेश समितिलाई केन्द्रको सम्पूर्ण सहयोग रहने बताए । ‘एनएमएको अन्य प्रदेश समितिले पनि राम्रो काम गरिरहेको छ । मलाई विश्वास छ कि यो समितिले पनि राम्रो काम गर्ने छ’, उनले भने, ‘समितिले बनाएको राम्रो योजनामा वा समितिले गर्न खोजेको काममा हाम्रोतर्फबाट सधै सहयोग हुनेछ । हामी सँगै अघि बढ्ने छौं ।’
यस्तै, महासचिव कुलबहादुर गुरुङले नयाँ कार्यसमितिलाई पूर्णरुपमा नेपाली पर्वतीय पर्यटनको विकासका लागि काम गर्ने बताए । ‘हामीले विधानअनुसार यो कार्यसमितिको गठन गरेका छौं । बागमती प्रदेश समितिले पूर्णरुपमा पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासका लागि काम गर्नेछ’, उनले भने, ‘म समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिन चाहन्छु ।’
कार्यक्रममा संघका शाखा समन्वय समितिका संयोजक तथा संघका सचिव टिकाराम गुरुङले बधाई दिंदै बागमती प्रदेशभित्र रहेका सबै जिल्लालाई समेटेर समितिको गठन गरिएको उल्लेख गरे । ‘यो समितिले नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण काम गर्ने विश्वास छ’ उनले भने ।
सो अवसरमा संघले धौलागिरि आरोहणका लागि जान लागेका सानु शेर्पालाई संघको झण्डा हस्तान्तरणसहित विदाई गरियो ।सानु विश्वभरी रहेका आठ हजारभन्दा माथिका १४ वटा हिमालको सफल आरोहण गरिसकेका कीर्तिमानी आरोही हुन् । उनले धौलागिरीको चुचुरोमा संघको झण्डा फहराउने छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …