खोपको मात्रा पुरा गरेका पर्यटकलाई अनअराइभल भिसा, कोरिन्टिन बस्न नपर्ने
काठमाडौँ । सरकारले खोपको मात्रा पुरा गरेको १४ दिन पुरा भएका विदेशी नागरिकलाई अनअराइभल भिसा खुला गरेको छ भने उनीहरूले कोरेन्टिन बस्न पर्ने छैन ।
सरकारले जारी गरेको ”विदेशबाट नेपाल आगमन हुने र नेपालबाट विदेश प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापन निर्देशिका” अनुसार अनअराइभल भिसा खुला गर्नुका साथै कोरिन्टिन व्यवस्था हटाएको हो । यद्यपि खोपको मात्रा पुरा नगरेकाले सम्बन्धित मुलुककै कुूटनीतिक नियोगमा भिसा लिनु पर्ने र १० दिन कोरिन्टिन बस्नु पर्ने व्यवस्था यथावत रहेको छ ।
अब कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घण्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटेल बुक गरेका र सीसीएमसीको अनलाइन फारम भरेका विदेशीले सहजै नेपाल प्रवेश पाउने छन् । केही दिनयता पर्यटन सम्बद्ध संस्था तथा व्यक्तिहरुले अनअराइभल भिसा खुलाउन र कोरिन्टनको व्यवस्था हटाउन माग गर्दै आएका थिए ।
पछिल्लो समय कोभिड सङ्क्रमण कम हुँदै गएको तथा देश भित्र र बाहिर पनि खोप लगाउनेको सङ्ख्या बढ्दै गएको अवस्थामा पर्यटन क्षेत्रलाई केही राहत हुने गरी खुकुलो व्यवस्था गरिएको हो ।
यसरी आउने सबै विदेशी नागरिकले अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण भने गर्नु पर्ने हुन्छ । परीक्षणमा कोरोना पोजेटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पताल बस्नु पर्ने छ ।
त्यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिकले नेपाल फर्किँदा पूर्ण खोप लगाएको अवस्थामा सिधै गन्तव्य जान पाउने छन् । त्यस्ता व्यक्तिले हवाई उडानमा चेक इन हुनु भन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रमाणको रूपमा ल्याउनु पर्ने छ । साथै उनीहरूले पनि सीसीएमसीको अनलाइन फारम अनिवार्य रूपमा भर्नुपर्ने छ ।
यद्यपि आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आउने नेपाली वा गैर आवासीय नेपालीलाई भने स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन टेस्ट गरी नेगेटिभ रिपोर्ट आएपछि गन्तव्यमा जान दिइने पनि निर्देशिकामा उल्लेख छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …