कञ्चनजङ्घाको आधार शिविर जाने पदर्मागमा ‘स्नो पोल’
- दिलकुमार लिम्बू
फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर (बेस क्याम्पसम्म) पदमार्ग क्षेत्रमा हिउँले बाटो नदेखिने समस्या समाधान गर्न साङ्केतिक चिह्न ‘स्नो पोल’ राखिएको छ । हिउँ पर्ने याममा पर्यटकले बाटो भुल्ने भएकाले पदमार्गमा यस्तो व्यवस्था गरिएको हो ।
हिउँले पदमार्ग छोपिएका बेला एउटा पोलदेखि अर्को पोलसम्म देखिने गरी सङ्केत चिन्ह राखिएको छ । कोभिड–१९ का कारणले दुई वर्ष प्रायः सुनसान जस्तै हरेको कञ्चनजङ्घा क्षेत्रमा गत महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटकहरुले बाटो नभुलोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
साङ्केतिक वोर्डहरू नभएका र हिउँ पर्दा पर्यटक हराउने वा बाटो भुलेर दुःख पाउने जस्ता समस्या समाधान गर्न पोल राखिएको हो । पर्यटकहरुको भ्रमणलाई सहज तुल्याउनका लागि रङ लगाएर पदमार्गको बेस क्याम्पसम्म स्नो पोल गाडिएको छ । वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम र समृद्ध पहाडको प्राविधिक सहयोगमा १२० थान स्नो पोल र एक सय थान साइन बोर्ड राखिएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा रहेका स्थानीय समुदायको जीवनस्तरमा प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले समृद्ध पहाडको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल खारिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताए ।
कञ्चनजङ्घा हिमालका उत्तर र दक्षिण गरी दुई बेस क्याम्प छन् । दुवैतिर पर्यटकलाई सजिलो होस् भन्ने हिसाबले उत्तरदेखि आधार शिविर जाने पदर्मागमा ८० थान र दक्षिणदेखि कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा ४० थान स्नो पोल राखिएको उनको बताए । घुन्सादेखि उत्तरी बेस क्याम्प पाङपेमा बेस क्याम्पसम्म पोल गाडिएको छ । रानीपुलदेखि भरियालाई बोकाएर ती सामान लगिएको थियो । खम्बाचेन, लोनाक हुँदै बेस क्याम्पसम्म पोल राखिएको छ । पाङपेको बेस क्याम्प पाँच हजार १४० मिटर उचाइमा पर्दछ ।
“हिउँ पर्न थालेपछि बाटो छोपिन थाल्छ । पर्यटकले बाटो भुल्ने खतरा हुन्छ । यस किसिमका अग्ला पोल राख्दा बाटो पहिल्याउन सजिलो हुन्छ,” फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले भने । कञ्चनजङ्घा पदयात्रा पर्यटकको रोजाइमा पर्ने भए पनि यहाँका पर्याप्त पूर्वाधारको विकास भने सोही अनुरूप हुन सकेको छैन र पदमार्ग पनि व्यवस्थित गर्न सकिएको छैन ।
आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज तुल्याउनाका लागि योजनाअनुसार नै स्नो पोल राखिएको समृद्ध पहाड परियोजना ताप्लेजुङका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए । पदयात्रीलाई बाटो देखाउन तथा आवश्यक जानकारी प्रदान गर्ने हेतुले साइनेज तथा इन्फर्मेसन बोर्ड राखिएको उनको भनाइ थियो । हिउँ पर्ने याममा हिउँले बाटो छोप्ने भएकाले स्नो पोल राखिएको हो । नेपालमा रहेका हिमालमध्ये दुईवटा भ्यू हेर्न सकिने एक मात्र हिमाल कञ्चनजङ्घा हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र दक्षिण एसियाकै पहिलो समुदायमा हस्तान्तरित संरक्षण क्षेत्र हो । ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ । ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठवटा क्याम्पमा पैदलै यात्रा गर्नु पदर्छ । सुविधा कम भए पनि पर्यटक बढ्ने क्रममा छ । गत वर्ष १२ विदेशी पर्यटकले कञ्चनजङ्घा भ्रमण गरेका थिए । यस वर्षको कात्तिकमा मात्र ६५ विदेशी पर्यटक र १०० नेपाली पर्यटकले कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण गरेको पर्यटन सहायक शेर्पाले बताए । रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …