December 17, 2021

पर्यटनमा ‘पोखरा–भरतपुर–लुम्बिनी’ स्वर्ण त्रिकोणका रुपमा

  • वासुदेव पौडेल
गण्डकी ।

“देवता ‘स्वर्ग’ हो भन्छन् ‘बगैँचा भन्दछन् चरा ।
मान्छे ‘यो देश हो’ भन्छन् ‘टीकी हो’ भन्दछिन् धरा ।।
दिव्य प्रकृत्ति साम्राज्य विश्वमा अब यत्ति छ ।
ननिभेको कुनैबेला जहाँ सौन्दर्य बत्ती छ ।।”

कवि मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ नामक वर्णनात्मक काव्यको नेपाल शीर्षकको कवितामा उल्लेखित यी पङ्क्तिले नेपालको प्राकृतिक सौन्दर्यलाई चित्रण गरेको छ । कविले भनेजस्तै प्रकृतिको बरदानको रूपमा हाम्रो देशका धेरै सुन्दरस्थल छन् । ती स्थललाई पर्यटकीयरुपमा विकास गर्न नसक्दा यतिखेर सर्वत्र चिन्ता र चासोको विषय बन्दै आएको छ ।

प्राकृतिक, धार्मिक एवं सांस्कृतिक सम्पदालाई पर्यटकीयरुपमा उपयोग गर्ने प्रयास राज्य एवं निजीस्तरबाट भए पनि यो अझै अधूरो छ । प्रवर्द्धनका कामलाई अघि बढाउन खोजिए पनि बेला बखत आइपर्ने प्राकृति विपत्ति एवं महामारी पनि बाधक भएको यस क्षेत्रका सरोकार व्यक्ति बताउँछन् । सम्भावनायुक्त स्थललाई प्रवर्द्धन गर्ने प्रयासस्वरुप पर्यटकीयस्थल पोखराबाट चितवनको भरतपुर हुँदै लुम्बिनीलाई पर्यटकीयरुपमा जोड्ने तयारी भइरहेको नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले बताए ।

यी क्षेत्रमा रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक एवं सांस्कृतिकस्थललाई जोड्ने गरी प्रवर्द्धनको कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिँदै उनले भने, “पर्यटनका यी तीन गन्तव्यलाई ‘स्वर्ण त्रिकोण’को अवधारणका साथ समेट्दै यसभित्रका पर्यटकीय महत्वका स्थललाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।” प्रवर्द्धनकै लागि यही पुस ३देखि ६ गतेसम्म बोर्डका प्रतिनिधि, पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीसहितको टोलीले ‘स्वर्ण त्रिकोण’का रुपमा ती स्थलको भ्रमण गर्न लागिएको प्रदेश प्रमुख भण्डारीले उल्लेख गरे ।

Sauraha

पोखरा, भरतपुर र लुम्बिनीका स्थल पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको छ भन्दै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का प्रदेश कोषाध्यक्ष राजेश पहारीले ‘स्वर्ण त्रिकोण’को अवधारणाका साथ गर्न लागिएको यस कार्यक्रमले यहाँका पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । यस क्षेत्रमा धेरै प्राकृतिक, धार्मिक एवं सांस्कृतिकस्थल रहेका र त्यही किसिमले पर्यटक लक्षित पूर्वाधार विकासका काम पनि अघि बढिरहेको बताउँदै उनले पोखरा–भरतपुर–लुम्बिनीको त्रिकोणात्मक पर्यटकीय सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

भौगोलिक दूरीका दृष्टिले स्थलमार्ग हुँदै पोखराबाट भरतपुर पुग्न १३० किलोमिटर र भरतपुरबाट लुम्बिनी पुग्न १६० किमि दूरी पार गर्नुपर्छ । लुम्बिनीबाट पाल्पा हुँदै पोखरा २१० किमी पार गरेपछि एक त्रिकोणात्मक यात्रा पूरा हुन्छ । स्थलमार्गका अतिरिक्त हवाइमार्गबाट यात्रा गर्न चाहनेका लागि पोखरा–भरतपुर र पोखरा–भैरहवाको सिधा उडानसमेत सञ्चालन भइसकेको छ ।

पोखरादेखि भरतपुरसम्मको यात्रामा बीचबीचमा महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल छन् । यस बीचमा राजमार्ग र त्यसका आसपासमा रहेका धार्मिकस्थल ढोरबराह, अकला, व्यास गुफा, छाब्दी बराही, देवघाट आदि छन् । सांस्कृतिक एवं ऐतिहासिकस्थल लेखनाथ पौड्यालको जन्मस्थल अर्घौं अर्चले र भानु जन्मस्थल चुँधीरम्घा आदि यसै क्षेत्रमा छन् त्यस्तै प्राकृतिकस्थलका रुपमा सामाजिक सञ्जालका कारण चर्चा कमाएका मानुङकोट, छिम्केश्वरी, आँधीमूललगायत विभिन्न गन्तव्य छन् ।

भरतपुर र आसपासका नारायणी किनार, चितवन राष्ट्रिय निकुञ्ज आदि पर्यटकीय गन्तव्य हुन् भने भरतपुरदेखि लुम्बिनीसम्मको यात्रामा आसपासका मौलाकालिका, दाउन्नेदेवी, सिजीधाम, कसरा, देवदह, जटायु रेष्टुरेन्ट, रामग्राम, त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, वाल्मिकी आश्रम, कैलाश आश्रम आदि दर्शनीय स्थल हुन् । लुम्बिनी र आसपासमा रहेका गन्तव्यमा मायादेवी मन्दिर, तिलौराकोट, सैनामैना आदि छन् ।

Lumbini-10 world heritage site in Nepal

त्यस्तै लुम्बिनीबाट पाल्पा हुँदै पोखरा आउँदा यस क्षेत्रका रानीमहल, श्रीनगर, पाल्पा भैरवस्थान, हिल स्टेशन, स्याङ्जाको स्वरेक मैदान, साल्मेडाँडा आदि पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेका छन् । पोखराबाट भरतपुर हुँदै लुम्बिनीसम्मको त्रिकोणात्मक पर्यटकीय सम्बन्ध विस्तार गर्दा आसपासमा जोडिएका गन्तव्यको प्रवर्द्धन र विकास जरुरी रहेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले बताए ।

पर्यटकका लागि उनीहरूको आवश्यकतानुसारका पर्यटक सवारीसाधन उपलब्ध रहेको र यी क्षेत्र आन्तरिक पर्यटकको गन्तब्य बनिसकेको उनको भनाइ थियो । धार्मिक हिसाबले धेरै भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म आउने गरेका छन् भन्दै अध्यक्ष पाण्डेले उनीहरूका लागि चितवनस्थित ठोरीको सिमानालाई व्यवस्थित गरी सञ्चालनमा ल्याउनु जरुरी भएको उल्लेख गरे । हाल भारतीय पर्यटक गोरखपुर तथा सुनौली नाकाबाट आउने गरेकामा ठोरी सिमानालाई प्रभावकारीरूपले सञ्चालन गर्न सके उनीहरूको यात्राको दूरी घट्नाका साथै थप पर्यटकको आगमन बढ्नसक्ने उनको भनाइ थियो । रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …