December 21, 2021

मुक्त कमैंया महिलाले चलाएको घरबास

  • राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर । पछिल्लो समय कृष्णपुर नगरपालिका– २ वाणिका मुक्त कमैया महिलाहरुको दिनचार्य फेरिएको छ । बिगतमा ज्याला मजदुरी गरेर परिवार चलाउँदै आउका उनीहरु घरबासमा पाहुना आउन थालेपछि बेफुर्सदिला मात्र भएका छैनन्, जीवन पनि सहज हुन थालेको छ । वाणिमा मुक्त कमैया परिवारलाई समेटेर विजयसाल सामुदायिक घरबासको स्थापना गरिएको छ ।

कोरोना महामारीका कारण बन्द जस्तै रहेको घरबास व्यवसाय पाहुना पुग्ने क्रमसँगै तङ्ग्रिन थालेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै दैनिक पाँच देखि १० जनाको टोली घरबासमा पाहुनाका रुपमा पुग्न थालेको जनाइएको छ । घरबासमा बाह्यभन्दा आन्तरिक पाहुना बढी आउन थालेको घरबास व्यवसायमा संलग्न विस्पती चौधरीले बताइन् ।

पाहुनाले स्थानीय जातका कुखुराको मासु, सुकाइएको माछाको सुकुटी, घोघिँ, ढिँक्रीसँगै अनदी चामलको भातको बढी माग गर्ने गरेका छन् । “घरबासमा पुग्ने पाहुनाको पहिलो रोजाइ नै स्थानीय जातको कुखुरा हुने गरेको छ”, चौधरीले भनिन्, “त्यसकै स्वादका लागि जिल्लाभित्र र निकटवर्ती भारतीय क्षेत्रका पाहुना आउने गरेका छन् ।”

परम्परागत तरिकाले पकाएर कुखुराको मासु पस्किने भएकाले पनि पाहुना लोभिने गरेका उनले भनाई छ । कुखुराको मासुसँगै दाल, भात रु ३५० मा उपलब्ध गराइँदै आएको छ । मासु नभएको सादा खानाको भने घरबास सञ्चालन गरेका महिलाले प्रति व्यक्ति रु १५० लिने गरेका छन् ।

घरबासमै बास बस्ने पाहुनालाई खानाका अतिरिक्त रु ५०० शुःल्क लिइने गरिन्छ । बास बस्ने पाहुनाका लागि गुणस्तरीय होटेलकै जस्तो घरायसी वातावरणमा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । “थारु समुदायका सांस्कृतिक महत्व झल्काउने सखिया, छोक्रा, लठ्ठि, झुम्रा, मघौटालगायतका नृत्य हेर्न रुचाउने पाहुनाको टोलीबाट रु तीन हजार शुःल्क लिएर नृत्य देखाउने गरेका छौं”, स्थानीय परदेशनी चौधरीले भनिन्, “थारु संस्कृतिमा रुचि राख्नेले नृत्यको माग गर्दछन्, त्यो माग थोरै मात्र आउने गरेको छ ।”

घरबास सञ्चालन गर्दै आएका महिलाले पाहुनाको सत्कारमा लाग्ने सबै खर्च कटाएर मासिक रुपमा रु १५ हजार देखि रु २५ हजारसम्म आम्दानी गर्दै आएका छन् । हाल छ घरमा घरबास सञ्चालनमा छ । दुई घरमा छिट्टै घरबास सञ्चालनको तयारी गरिएको छ ।

“घरबासमा जति बढी पाहुना पुग्छन्, जति धेरै बस्छन्, त्यसकै आधारमा आम्दानी समेत हुने गरेको छ, कुनै महिना धेरै आम्दानी हुन्छ, कुनै महिना थोरै पनि हुन्छ”, स्थानीय जमुना चौधरीले भनिन्, “रु १५ हजारभन्दा बढी नै आम्दानी हुन्छ, कोरोनाको महामारीका बेला मात्रै घरबासमा पाहुना नपुग्दा सुनसान जस्तै थियो, अहिले पाहुना बढदै गएका छन् ।” घरबासबाट आएको आम्दानीको १० प्रतिशत रकम महिलाले कोषमा जम्मा गर्ने गर्दछन् । कोषमा राखिएको रकमबाट भइपरी आउने खर्चसँगै बैठक, तालिम, गोष्ठी र नृत्यका लागि आवश्यक सामानको जोहो गर्न खर्च गरिँदै आएको उनले बताइन् ।

घरबासको आम्दानीको रकमबाट घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च सबै व्यहोरिँदै आएको स्थानीय राजकुमारी चौधरीले बताइन् । घरबासमा संलग्न सबै जना मुक्तकमैंया परिवारका महिला मात्रै रहेका छन् । “घरबास सञ्चालन नहुँदा महिलाले मजदूरी गरी जिविका चलाउँदै आएका थिए”, उनले भनिन्, “नगरपालिका र दातृ निकायको पहलमा घरबास सञ्चालनमा ल्याइएपछि मजदूरी गर्ने दिनको अन्त्य भएको छ ।”

यस व्यवसायबाट आम्दानी मात्रै भएको नभइ सबै जनासँग चिनजान बढेको स्थानीय लीला चौधरीले बताइन् । नगरपालिकाले घरबास जाने मार्गमा प्रवेशद्वार, कालोपत्र सडक र खाजाघर निर्माण गरिदिएको छ । दातृ संस्थाले आवश्यक फर्निचरसँगै भाँडालगायत व्यवस्था गरिदिएका छन् ।

गोरु गाडा (लाहुड) मा बसालेर पाहुनालाई नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र सिस्ने सीमसार अवलोकनका लागि लैजाने व्यवस्थासमेत घरबासमा संलग्नले गरेका छन् । घरबाससँगै जोडिएको सार्वजनिक जग्गामा उद्यान निर्माणका लागि कार्यसमेत अगाडि बढाइएको छ । त्यसका लागि डिपिआर तयार भसकेको छ । निर्माणका लागि महिलाले नगरपालिकासँग आवश्यक रकमका लागि प्रस्ताव गरेका छन् ।

“घरबास सञ्चालनमा संलग्न मुक्तकमैया परिवारका महिलालाई पर्यापर्यटनसँग जोडेर आर्थिक रुपमा सम्पन्न बनाउन कार्य अगाडि बढाएका छौं”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “विपन्न मुक्तकमैंया परिवारको आर्थिक अवस्था सुधार गर्न घरबासले सघाउ पुर्‍याउने भएकाले यसको स्तरवृद्धिमा लागेका छौं ।” घरबास नजिकै रहेका गडविजला ताल संरक्षण, ग्वासिसमैजी मन्दिरका भौतिक संरचना निर्माण, राना थारु, चौधरी थारु र पहाडी समुदायको लोपोन्मुख अवस्थामा पुगेको संस्कृति संरक्षणका लागिसमेत बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउदै आएको नगर प्रमुख हमालले बताए । रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …